प्रधान वादकका लागि; दाऊदको भजन
64
हे परमेश्वर, मेरो प्रार्थनामा मेरो सोर सुन्नुहोस्; शत्रुको डरदेखि मेरो जीवन रक्षा गर्नुहोस्!2 दुष्टहरूको गुप्त सल्लाहबाट र कुकर्मीहरूको विद्रोहबाट मलाई लुकाउनुहोस्!
3 तिनीहरूले आफ्नो जिब्रो तरवारझैं उध्याउनेछन्, र तिनीहरूका काँड़हरू, अँ, तीता वचनरूपी काँड़हरू हान्न आफ्ना धनुमा ताँदो चढ़ाउँछन्;
4 गुप्तमा बसेर सिद्ध व्यक्तिलाई हान्नका निम्ति; अचानक तिनीहरूले उसलाई हान्छन्, र डराउँदैनन्।
5 खराब कुरामा तिनीहरूले आफूलाई उत्साहित पार्छन्; तिनीहरू सुटुक्कै पासोहरू थाप्ने विषयमा बातचित गर्छन्; तिनीहरू भन्छन्: “कसले यी देख्ला र?”
6 तिनीहरू दुष्ट कुराहरू खोजेर निकाल्छन्; तिनीहरूले धूर्त योजना तयार पारेका छन्। हरेक मानिसको भित्री विचार, र हृदय पनि गहिरो हुन्छ।
7 तर परमेश्वरले तिनीहरूलाई काँड़ले हान्नुहुनेछ; अचानक तिनीहरू घायल हुनेछन्।
8 यसरी तिनीहरूले आफ्नो जिब्रो आफैमाथि आइपर्न तुल्याउनेछन्; तिनीहरूलाई देख्नेहरू सबै भाग्नेछन्।
9 अनि सबै मानिसहरू डराउनेछन्, र परमेश्वरको कामको घोषणा गर्नेछन्; किनभने तिनीहरूले उहाँको काम बुद्धिमानीसाथ विचार गर्नेछन्।
10 धर्मी जन परमप्रभुमा आनन्दित हुनेछ, र उहाँमाथि भरोसा राख्नेछ; अनि सबै सीधा हृदय भएकाहरूले गर्व गर्नेछन्।