दाऊदको भजन; जब उनी यहूदाको उजाड़स्थानमा थिए।
63
हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ; एकाबिहानै म तपाईंलाई खोज्नेछु; सुक्खा र तिर्खाएको भूमिमा, जहाँ पानी छैन, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ; मेरो शरीरले तपाईंको तिर्सना गर्छ,2 तपाईंको सामर्थ्य र तपाईंको महिमा देख्नका निम्ति, जसरी मैले तपाईंलाई पवित्रस्थानमा देखेको छु।
3 किनकि तपाईंको करुणा जीवनभन्दा उत्तम हो; मेरा ओठले तपाईंको प्रशंसा गर्नेछन्।
4 यसरी मेरो जीवनभरि म तपाईंलाई धन्यको भन्नेछु; म मेरा हातहरू तपाईंको नाममा उचाल्नेछु।
5 मेरो प्राण मासी र बोसोले झैं तृप्त हुनेछ; अनि मेरो मुखले हर्षित ओठहरूद्वारा तपाईंको स्तुति गर्नेछ;
6 जब आफ्नो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातका पहर-पहरमा म तपाईंमाथि ध्यान गर्छु।
7 किनकि तपाईं मेरो सहारा हुनुभएको छ; यसकारण तपाईंका पखेटाहरूको छायामा म रमाउनेछु;
8 मेरो प्राणले तपाईंको पछि लाग्नमा पूरा लीन हुन्छ;क तपाईंको दाहिने हातले मलाई सम्हाल्छ।
9 तर मेरो प्राणलाई नाश गर्न खोज्नेहरूचाहिँ पृथ्वीका सबभन्दा तल्ला भागहरूमा जानेछन्।
10 तिनीहरू तरवारले मारिनेछन्; तिनीहरू स्यालहरूको भाग हुनेछन्।
11 तर राजा परमेश्वरमा आनन्दित हुनेछन्; उहाँको नाममा शपथ खाने हरेकले गर्व गर्नेछ; तर झूट बोल्नेहरूको मुख बन्द गरिनेछ।