प्रधान वादक यदूतूनका लागि; दाऊदको भजन
62
साँच्चै मेरो प्राणले परमेश्वरकै बाटो हेर्दछ; उहाँबाट नै मेरो उद्धार आउँछ।2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार, मेरो उच्च गढ़़ हुनुहुन्छ; म धेरै डगमगाउनेछैनँ।
3 कहिलेसम्म तिमीहरू एकजना मानिसको विरोधमा दुष्ट युक्ति रच्नेछौ? तिमीहरू, अँ, तिमीहरू सबै मारिनेछौ; ढल्न लागेको पर्खालझैं र लर्खरिने बारझैं तिमीहरू हुनेछौ।
4 साँच्चै तिनीहरू उसलाई उसको उच्च स्तरबाट तल खसाल्नका निम्ति सल्लाह गर्छन्; तिनीहरू झूट बोल्नमा प्रसन्न हुन्छन्; तिनीहरू आफ्नो मुखले त आशीर्वाद दिन्छन्, तर मन-मनमा सराप्छन्। सेला#
5 हे मेरो प्राण, तँ परमेश्वरको मात्र बाटो हेर्; किनकि मेरो आशा उहाँबाट नै पूरा हुन्छ।
6 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार, मेरो उच्च गढ़ हुनुहुन्छ; म डगमगाउनेछैनँ।
7 परमेश्वरमा नै मेरो उद्धार र मेरो महिमा छ; मेरो बलको चट्टान र मेरो शरणस्थान परमेश्वरमा नै छ।
8 हे मानिसहरूहो, हर समय उहाँमाथि नै भरोसा राख; उहाँको सामु आफ्नो हृदय पोख; परमेश्वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ। सेला#
9 साँच्चै तल्ला तहका मानिसहरू व्यर्थ हुन्, र माथिल्ला तहका मानिसहरू झूटा हुन्; तराजुमा राख्दा तिनीहरू बाफभन्दा बिलकुल हलुका छन्।
10 अत्याचारमा भरोसा नगर, न ता डकैती गर्नामा व्यर्थका होओ; सम्पत्ति बढ़े तापनि त्यसमा मन नलगाओ!
11 एक पटक परमेश्वर बोल्नुभएको छ; दुई पटक मैले यो सुनेको छु: सामर्थ्य परमेश्वरकै हो।
12 हे प्रभु, करुणा पनि तपाईंकै हो; किनकि तपाईंले नै हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।