प्रधान वादकका लागि; ‘अल-थश्हेत’-रागमा; दाऊदको मिक्ताम; जब शावलले मानिसहरू पठाए, र तिनीहरूले उनलाई मार्नका निम्ति उनको घर चियो गरे।
59
हे मेरा परमेश्वर, मेरा शत्रुहरूबाट मलाई छुटाउनुहोस्; मेरो विरोधमा उठ्नेहरूबाट मलाई रक्षा गर्नुहोस्!2 कुकर्मीहरूबाट मलाई छुटाउनुहोस्, र खूनी मानिसहरूबाट मलाई बचाउनुहोस्!
3 किनकि हेर्नुहोस्, मेरो प्राण लिन तिनीहरू ढुकेर बस्छन्; शक्तिशाली मानिसहरू मेरो विरोधमा भेला भएका छन्, मेरो अपराधको कारणले होइन, न ता मेरो पापको कारणले नै हो, हे परमप्रभु!
4 मेरो दोषैविना तिनीहरू दगुर्छन् र आफूलाई तयार पार्छन्; मलाई सहायता गर्न जाग्नुहोस् र हेर्नुहोस्!
5 यसकारण हे परमप्रभु, सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर, तपाईं सबै अन्यजातिहरूलाई न्याय गर्नक जाग्नुहोस्; कुनै दुष्ट अपराधीप्रति कृपालु नहुनुहोस्! सेला#
6 साँझमा तिनीहरू फर्कन्छन्; तिनीहरू कुकुरझैं कराउँछन् र शहरको वरिपरि घुम्छन्।
7 हेर्नुहोस्, तिनीहरू आफ्नो मुखले डकार्छन्; तिनीहरूका ओठमा तरवारहरू छन्; किनकि तिनीहरू भन्छन्: “कसले सुन्छ र?”
8 तर हे परमप्रभु, तपाईंले तिनीहरूलाई खिसी गरेर हाँस्नुहुनेछ; तपाईंले सबै अन्यजातिहरूलाई ठट्टामा उड़ाउनुहुनेछ।
9 हे मेरा बलख, म तपाईंको बाटो हेर्नेछु; किनकि परमेश्वर मेरो उच्च गढ़ हुनुहुन्छ।
10 मेरो करुणाका परमेश्वरले मलाई भेट्नुहुनेछ; मेरा शत्रुहरूमाथि मेरो इच्छा पूरा भएको परमेश्वरले मलाई देख्न दिनुहुनेछ।
11 तिनीहरूलाई नमार्नुहोस्, नत्र ता मेरा जनहरूले बिर्सलान्; आफ्ना सामर्थ्यले तिनीहरूलाई छरपस्ट पार्नुहोस्, र तिनीहरूलाई ढाल्नुहोस्; हे प्रभु, हाम्रा ढाल!
12 तिनीहरूको मुखको पाप, तिनीहरूका ओठका शब्दहरू, साथै तिनीहरूले दिएको श्राप र बोलेको झूट कुराको कारणले तिनीहरूका घमण्डमै तिनीहरू पक्राउ परून्।
13 क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्, भस्म पार्नुहोस्, र तिनीहरू रहँदै नरहून्; अनि परमेश्वरले पृथ्वीका छेउ-छेउसम्म याकूबमा राज्य गर्नुहुन्छ भनी तिनीहरूले जानून्। सेला#
14 अनि साँझमा तिनीहरू फर्कून्; तिनीहरूले कुकुरले झैं कराऊन् र शहरको वरिपरि घुमून्।
15 खानेकुराका निम्ति तिनीहरू यताउता डुलिहिँडून्, र सन्तुष्ट भएनन् भने तिनीहरू गनगनाऊन्।
16 तर म तपाईंको सामर्थ्यको गीत गाउनेछु, अँ, बिहानै म उच्च सोरमा तपाईंको करुणाको गीत गाउनेछु; किनकि तपाईं मेरो दु:खको दिनमा मेरा उच्च गढ़ र शरणस्थान हुनुभएको छ।
17 हे मेरा बल, म तपाईंको स्तुति गाउनेछु; किनकि परमेश्वर मेरा उच्च गढ़ र मेरा करुणाका परमेश्वर हुनुहुन्छ।