प्रधान वादकका लागि; ‘अल-थश्हेत’-रागमा; दाऊदको मिक्ताम
58
हे समुदायहो, के तिमीहरू साँच्‍चै धार्मिकतापूर्वक वचन बोल्छौ? हे मानिसका सन्तानहो, के तिमीहरू निष्पक्षतासाथ न्याय गर्छौ?
2 अँ, तिमीहरू हृदयमा दुष्‍टता गर्छौ; तिमीहरू पृथ्वीमा आफ्ना हातको अत्याचार तौलन्छौ।
3 दुष्‍टहरू गर्भदेखि नै एकातिर लाग्छन्; तिनीहरू जन्मिनसाथ झूट बोल्दै-बोल्दै कुबाटो लाग्छन्।
4 तिनीहरूको विषचाहिँ साँपको विषजस्तै हुन्छ; तिनीहरू बहिरो साँभेसाँपजस्तै हुन्छन्, जसले आफ्ना कान थुन्छ,
5 जसले, सपेराहरूले जतिकै सीप लगाएर मोहनी लगाए तापनि सपेराहरूको सोर सुन्दैन।
6 हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखभित्र भाँचिदिनुहोस्; हे परमप्रभु, जवान सिंहहरूका ठूला-ठूला दाँत उखेलिदिनुहोस्!
7 निरन्‍तर बग्‍ने पानीझैं ती पग्लिजाऊन्; जब त्यसले आफ्ना काँड़हरू हान्‍न धनुमा ताँदो चढ़ाउँछ, तब ती टुक्रा-टुक्रा पारी काटिएझैं होऊन्।
8 तिनीहरू पग्लिजाने चिप्ले कीराझैं बितिजाऊन्, स्त्रीको तुहेको गर्भझैं होऊन्; र तिनीहरूले घाम कहिल्यै नदेखून्।
9 तिमीहरूका भाँड़ाहरूले काँड़ाको राप थाहा पाउनुभन्दा पहिल्यै उहाँले तिनीहरूलाई जिउँदै र आफ्नो जल्दो क्रोधमा आँधीले झैं लैजानुहुनेछ।
10 बदला लिइएको देखेर धर्मी जन रमाउनेछ; दुष्‍टको रगतमा उसले आफ्ना पाउहरू धुनेछ,
11 फलस्वरूप मानिसले भन्‍नेछ: “साँच्‍चै धर्मी जनको लागि इनाम रहेछ; साँच्‍चै पृथ्वीमा न्याय गर्नुहुने परमेश्‍वर हुनुहुँदो रहेछ।”