प्रधान वादकका लागि; ‘नेगिनोत’मा; दाऊदको मस्किल, एउटा भजन
55
हे परमेश्‍वर, मेरो प्रार्थनातिर कान लगाउनुहोस्; अनि मेरो विन्‍तीबाट आफूलाई नलुकाउनुहोस्!
2 मतिर ध्यान दिनुहोस्, र मेरो विन्‍ती सुन्‍नुहोस्; मेरो दुःख पोखाउँदा म विलाप गर्छु र सोर मच्‍चाउँछु,
3 शत्रुको सोर र दुष्‍टको थिचोमिचोको कारणले; किनकि तिनीहरू ममाथि अधर्म लाद्छन्, र रिसले तिनीहरू मलाई घृणा गर्छन्।
4 मभित्र-भित्रै मेरो हृदय अति पीड़ित भएको छ; अनि मृत्युका आतङ्कहरू ममाथि आइपरेका छन्।
5 डर र कम्पन ममाथि आइपरेका छन्, र त्रासले मलाई छोपेको छ।
6 अनि मैले भनें: “आहा, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उड़ेर जानेथिएँ, र चैन पाउनेथिएँ।
7 हेर, म भागेर टाढ़ा-टाढ़ा जानेथिएँ र उजाड़स्थानमा रहनेथिएँ। सेला#
8 प्रचण्ड बतास र आँधीबेहरीबाट उम्कन म हतार गर्नेथिएँ।”
9 हे प्रभु, नाश गर्नुहोस्, र तिनीहरूको बोलीमा फाटो ल्याउनुहोस्; किनकि शहरमा मैले अत्याचार र झगड़ा देखेको छु।
10 त्यसका पर्खालहरूमा चढ़ेर तिनीहरू दिनरात त्यसको चारैपट्टि घुम्छन्; अनि उपद्रव र क्लेश त्यसको बीचमा छन्।
11 त्यसको बीचमा दुष्‍टता छ; त्यसका सड़कहरूबाट थिचोमिचो र छलकपट हट्दैनन्।
12 किनकि मेरो बदनामी गर्नेचाहिँ शत्रु थिएन, त्यसो भए त म सहनेथिएँ; न ता त्यो मलाई घृणा गर्ने र मेरो विरोधमा आफूलाई ठूलो पार्ने मान्छे नै थियो, त्यसो भए त म त्यसबाट लुक्नेथिएँ।
13 तर, त्यो त तँ थिइस्, मेरो बराबरीको मानिस, मेरो साथी र मेरो चिनारु।
14 हामीले आपसमा मीठो-मीठो सल्‍लाह गर्थ्यौं, र भीड़सँग परमेश्‍वरको भवनमा जान्थ्यौं।
15 तिनीहरूमाथि मृत्यु आइपरोस्; तिनीहरू जिउँदै अधोलोकमा परून्; किनकि तिनीहरूका वासस्थानहरूमा र तिनीहरूको बीचमा दुष्‍टता छ।
16 तर मचाहिँ परमेश्‍वरलाई पुकार्नेछु; अनि परमप्रभुले मलाई बचाउनुहुनेछ।
17 बेलुका, बिहान र मध्यदिनमा म प्रार्थना गर्नेछु र बिलौना गर्नेछु; अनि उहाँले मेरो सोर सुन्‍नुहुनेछ।
18 मेरो विरोधमा उठेको लड़ाइँबाट उहाँले मेरो प्राणलाई शान्तिसित छुटकारा गर्नुभएको छ; किनकि धेरैजना मेरो विरोधमा थिए।
19 परमेश्‍वर जो आदिदेखि विराजमान हुनुहुन्छ, उहाँले नै सुन्‍नुहुनेछ र तिनीहरूलाई कष्‍ट दिनुहुनेछ। सेला#
किनभने तिनीहरूमा कुनै परिवर्तन छैन; यसकारण तिनीहरू परमेश्‍वरको डर मान्दैनन्।
20 त्यसले आफूसँग मिलाप राख्‍नेहरूकै विरोधमा आफ्ना हात उठाएको छ; त्यसले आफ्नो करार भङ्ग गरेको छ।
21 त्यसको मुखका वचनहरूचाहिँ घिउभन्दा चिल्‍ला थिए, तर त्यसको हृदयभित्र लड़ाइँ थियो; त्यसका शब्दहरू तेलभन्दा नरम थिए, तैपनि ती नाङ्गा तरवारहरू थिए।
22 तिम्रो बोझ परमप्रभुमाथि राखिदेऊ, र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ; उहाँले धर्मी जनलाई कहिल्यै डग्‍न दिनुहुनेछैन।
23 तर हे परमेश्‍वर, तपाईंले नै तिनीहरूलाई विनाशको खाड़लमा हाल्नुहुनेछ; खूनी र छली मानिसहरू आधा आयुसम्म पनि बाँच्‍नेछैनन्; तर मचाहिँ तपाईंमाथि भरोसा राख्‍नेछु।