प्रधान वादकका लागि; माहालत; मस्किल, दाऊदको भजन
53
मूर्खले आफ्नो मनमा भनेको छ: “परमेश्‍वर छैन।” तिनीहरू भ्रष्‍ट छन् र तिनीहरूले घिनलाग्दा अधर्म गरेका छन्; असल गर्ने कोही छैन।
2 बुझ्ने कोही छ कि? परमेश्‍वरलाई खोज्‍ने कोही छ कि? सो हेर्न परमेश्‍वरले स्वर्गबाट मानिसका सन्तानहरूमाथि नजर लगाउनुभयो।
3 तिनीहरू सबै पछि हटेका छन्; तिनीहरू सबै एकसाथ फोहोरी भएका छन्; असल गर्ने कोही छैन; अहँ, एउटै पनि छैन।
4 के कुकर्म गर्नेहरूसँग ज्ञान छैन र, जसले रोटी खाएझैं मेरा जनहरूलाई निल्छन्? तिनीहरूले परमेश्‍वरलाई पुकारेका छैनन्।
5 जहाँ केही डर नै थिएन, त्यहीं तिनीहरू ठूलो डरमा परे; किनकि जो तिम्रो विरोधमा छाउनी हालेर बसेको थियो, त्यसका हड्डीहरू परमेश्‍वरले छरपस्ट पारिदिनुभएको छ; तिमीले तिनीहरूलाई शर्ममा पारेका छौ; किनकि परमेश्‍वरले तिनीहरूलाई तुच्छ ठान्‍नुभएको छ।
6 आहा, इस्राएलको उद्धार सियोनबाट आए त! जब परमेश्‍वरले आफ्ना जनहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब रमाउनेछ, र इस्राएल आनन्दित हुनेछ।