प्रधान वादकका लागि; मस्किल, दाऊदको भजन; जब एदोमी दोएगले शाउलकहाँ आएर तिनलाई यसो भन्दै बतायो: ‘दाऊद अहिमेलेकको घरमा आएको छ।’
52
हे शक्तिशाली मानिस, दुष्‍ट काममा तँ किन घमण्ड गर्छस्? परमेश्‍वरको करुणा निरन्‍तर रहिरहन्छ।
2 तेरो जिब्रोले दुष्‍टताहरूको युक्ति रच्दछ; धारिलो छुराले काटेझैं त्यसले छलको काम गर्दछ।
3 तँ भलाइभन्दा खराबी, र धार्मिकता बोल्नुभन्दा झूट मन पराउँछस्। सेला#
4 हे छली जिब्रो, तँ सबै विनाशकारी शब्दहरू मन पराउँछस्।
5 यही प्रकारले परमेश्‍वरले तँलाई पनि सदाका निम्ति नष्‍ट गर्नुहुनेछ; उहाँले तँलाई समातेर तँलाई तेरो वासस्थानबाट तानेर निकाल्नुहुनेछ र तँलाई जिउँदाहरूको देशबाट उखेलिदिनुहुनेछ। सेला#
6 तब धर्मी जनहरूले यो देख्‍नेछन्, र डराउनेछन्, अनि यसो भन्दै त्यसको हाँसो गर्नेछन्:
7 “हेर, यो त्यो मान्छे हो, जसले परमेश्‍वरलाई आफ्नो सामर्थ्य तुल्याएन, तर आफ्नै धनसम्पत्तिको भरपूरीमाथि भरोसा राख्यो र आफ्नो दुष्‍टतामा आफूलाई बलियो तुल्यायो।”
8 तर मचाहिँ परमेश्‍वरको भवनमा हरियो जैतुनको रूखजस्तो छु; सदा-सर्वदा म परमेश्‍वरको करुणामाथि भरोसा राख्छु।
9 सधैंभरि म तपाईंलाई धन्यवाद चढ़ाउनेछु; किनकि तपाईंले यो गर्नुभएको हो; अनि म तपाईंको नामको बाटो हेर्नेछु; किनकि तपाईंका पवित्र जनहरूको सामु यो असल हो।