प्रधान वादकका लागि; दाऊदको भजन; जब उनी बतशेबाकहाँ गएपछि भविष्यवक्ता नातान उनीकहाँ आए
51
हे परमेश्‍वर, तपाईंको करुणाअनुसार ममाथि दया गर्नुहोस्; तपाईंका असंख्य कोमल कृपाहरूअनुसार मेरा अपराधहरू मेटाइदिनुहोस्!
2 मेरो अधर्मबाट मलाई पूरा रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस्!
3 किनकि म मेरा अपराधहरू स्वीकार गर्छु; अनि मेरो पाप निरन्‍तर मेरै सामुन्‍ने छ।
4 तपाईंको विरोधमा, केवल तपाईंकै विरोधमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा यो खराबी गरेको छु; यस हेतुले कि तपाईं बोल्नुहुँदा धर्मी र न्याय गर्नुहुँदा सच्‍चा ठहरिनुहुनेछ।
5 हेर्नुहोस्, म अधर्ममा उत्‍पन्‍न भएँ, र पापमा मेरी आमाले मलाई गर्भधारण गरिन्।
6 हेर्नुहोस्, भित्री भागमा सच्‍चाइ भएको तपाईं चाहना गर्नुहुन्छ; तपाईंले मलाई मनको गहिराइमा बुद्धि जान्‍ने तुल्याउनुहुनेछ।
7 हिसपले मलाई चोख्याउनुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
8 मलाई हर्ष र आनन्द सुन्‍ने तुल्याउनुहोस्, र तपाईंले भाँच्‍नुभएका यी हड्डीहरू रमाऊन्!
9 मेरा पापहरूबाट आफ्नो चेहरा लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाइदिनुहोस्!
10 हे परमेश्‍वर, मभित्र शुद्ध हृदय सृजनुहोस्, र मभित्र स्थिर आत्मा नयाँ तुल्याउनुहोस्!
11 तपाईंको उपस्थितिबाट मलाई ननिकाल्नुहोस् र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
12 तपाईंको उद्धारको आनन्द मलाई फेरि दिनुहोस् र तपाईंको इच्छुक आत्माले मलाई सम्हाल्नुहोस्!
13 तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु, र पापीहरू तपाईंकहाँ फर्केर आउनेछन्।
14 हे परमेश्‍वर, मेरा उद्धारका परमेश्‍वर, मलाई रक्तपातको दोषदेखि छुटकारा दिनुहोस्; र मेरो जिब्रोले तपाईंको धार्मिकताको गीत उच्‍च सोरले गाउनेछ।
15 हे प्रभु, मेरा ओठ खोलिदिनुहोस्; र मेरो मुखले तपाईंको स्तुति-प्रशंसा गर्नेछ।
16 किनकि तपाईं बलिदानको चाहना गर्नुहुन्‍न, नत्र ता म त्यो चढ़ाउनेथिएँ; तपाईं होमबलिमा प्रसन्‍न हुनुहुन्‍न।
17 टुटेको आत्मा नै परमेश्‍वरका बलिदानहरू हुन्; हे परमेश्‍वर, तपाईं टुटेको र पश्‍चात्तापले चूर्ण हृदयलाई तुच्छ ठान्‍नुहुन्‍न।
18 तपाईंको शुभ-अभिप्रायअनुसार सियोनको भलाइ गर्नुहोस्; यरूशलेमका पर्खालहरू बनाइदिनुहोस्!
19 तब तपाईं धार्मिकताका बलिदानहरूमा, होमबलि र सर्वाङ्ग होमबलिमा प्रसन्‍न हुनुहुनेछ; तब उनीहरूले तपाईंको वेदीमाथि बहरहरू बलि चढ़ाउनेछन्।