आसाफको भजन
50
शक्तिशाली परमेश्‍वर अर्थात् परमप्रभु बोल्नुभएको छ, र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीका मानिसहरूलाई बोलाउनुभएको छ।
2 परम सुन्दर सियोनबाट परमेश्‍वर चम्कनुभएको छ।
3 हाम्रा परमेश्‍वर आउनुहुनेछ, र चुप लाग्‍नुहुनेछैन; उहाँको अघि-अघि आगोले भस्म गर्नेछ, र उहाँको चारैतिर प्रचण्ड आँधी चल्नेछ।
4 आफ्ना प्रजाको न्याय गर्न उहाँले माथिबाट आकाश र पृथ्वीलाई बोलाउनुहुनेछ।
5 मेरा पवित्र जनहरूलाई, जसले बलिदान चढ़ाएर मसँग वाचा बाँधेका छन्, मकहाँ भेला गराओ!
6 अनि आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ; किनकि परमेश्‍वर आफै नै न्यायाधीश हुनुहुन्छ। सेला#
7 हे मेरा जन, सुन; र म बोल्नेछु; हे इस्राएल, र म तिम्रो विरोधमा साक्षी दिनेछु; परमेश्‍वर, तिम्रा परमेश्‍वर म नै हुँ।
8 म तिमीलाई तिम्रा बलिदानहरूको विषयमा दोष लगाउनेछैनँ; अँ, तिम्रा होमबलिहरू त निरन्‍तर मेरो सामुमा छँदैछन्।
9 म तिम्रो घरबाट कुनै बहर लिनेछैनँ, न ता तिम्रा खोरहरूबाट बोकाहरू लिनेछु।
10 किनकि जङ्गलको हरेक पशु, र हजारौं पहाड़हरूका गाईबस्तु मेरै हुन्।
11 पहाड़हरूका सबै चराचुरुङ्गीलाई म जान्दछु; अनि वनका जङ्गली पशुहरू मेरै हुन्।
12 म भोकाएँ भने पनि म तिमीलाई भन्‍नेथिइनँ; किनकि पृथ्वी र यसको भरपूरी मेरै हुन्।
13 के म बहरहरूको मासु खान्छु र? अथवा के म बोकाहरूको रगत पिउँछु र?
14 परमेश्‍वरलाई धन्यवादको बलि चढ़ाऊ, र परमप्रधानका लागि आफ्ना भाकलहरू पूरा गर;
15 अनि सङ्कष्‍टको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु, र तिमीले मेरो बढ़ाइ गर्नेछौ।
16 तर दुष्‍टलाई परमेश्‍वर भन्‍नुहुन्‍छ: “मेरा विधिहरूको बयान गर्ने वा मेरो वाचा तेरो मुखमा लिने तँलाई के सरोकार?”
17 किनकि तँ त शिक्षालाई घृणा गर्छस्, र मेरा वचनहरू आफ्नो पछिल्तिर फ्याँक्छस्!
18 चोरलाई देखेपछि तँ त्यससँगै सहमत भइस्, र परस्त्रीगामीहरूसँग साझेदार भइस्।
19 तैंले आफ्नो मुख खराबीका निम्ति दिन्छस्, र तेरो जिब्रोले छलको कुरा रच्छ।
20 तँ बसेर आफ्नै भाइको विरोधमा बोल्छस्; तँ आफ्नै आमाको छोराको बदनामी गर्छस्।
21 तैंले यी कुराहरू गरेको थिइस्, अनि मचाहिँ चुप लागें; यसकारण मचाहिँ बिलकुलै तँजस्तै रहेछु भनी तैंले ठानिस्; तर म तँलाई हप्काउनेछु र तेरा आँखाहरूको सामु यी कुराहरू ठीकसँग राखिदिनेछु।
22 हे परमेश्‍वरलाई भुल्नेहरूहो, अब यस कुरामा ध्यान देओ; नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पारी च्यातुँला, र छुटाउने कोही नहोला!
23 जसले प्रशंसारूपी बलिदान चढ़ाउँछ, उसैले मेरो महिमा गर्छ; अनि जसले आफ्नो चाल सुधार्छ, उसैलाई म परमेश्‍वरको उद्धार देखाउनेछु।