प्रधान वादकका लागि; कोरहवंशीहरूका निम्ति एउटा भजन
49
हे सबै जाति-जातिका मानिसहरूहो, यो सुन; संसारका सबै बासिन्दाहरूहो, कान लगाओ;
2 नीच र उच्‍च दुवैले, धनी र गरिब दुवैले, एकसाथ!
3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ; अनि मेरो हृदयको चिन्तनचाहिँ समझसितको हुनेछ।
4 म दृष्‍टान्‍ततिर आफ्नो कान लगाउनेछु; वीणा बजाएर म आफ्नो अड़्को फुकाउनेछु।
5 जब मेरा कुर्कुच्‍चाहरूमा अपराधले मलाई घेर्ला, तब विपत्तिका ती दिनहरूमा म किन डराऊँ?
6 जसले आफ्नो धनसम्पत्तिमाथि भरोसा राख्छन् र आफ्नो धनको भरपूरीमा घमण्ड गर्छन्,
7 तीमध्ये कसैले पनि आफ्नो भाइलाई कुनै रीतिले छुटाउन सक्दैन, न ता उसका निम्ति परमेश्‍वरलाई छुटकाराको दाम नै दिन सक्दछ;
8 (किनकि तिनीहरूको प्राणको छुटकाराको दाम अमूल्य छ, र कहिल्यै पुग्दैन) –
9 फलस्वरूप ऊ सधैं बाँचिरहोस्, र सड़ावट नदेखोस्।
10 किनकि उसले बुद्धिमान् मानिसहरू मर्दा रहेछन्; त्यस्तै गरी मूर्ख र विवेकहीन मानिस पनि नष्‍ट हुँदा रहेछन्, र आफ्नो धनसम्पत्ति अरूका निम्ति छोड़्दा रहेछन् भनी उसले देख्छ।
11 तिनीहरूका घरहरू सधैं रहिरहनेछन् र तिनीहरूका वासस्थानहरू पुस्ता-पुस्तासम्म रहिरहनेछन् भन्‍ने तिनीहरूको भित्री विचार हुन्छ; तिनीहरूले आफ्ना जमिनहरूलाई आ-आफ्ना नाम दिन्छन्
12 तर मानिस आदरको पदमै भए पनि रहिरहने त होइन; त्यो त नष्‍ट भइजाने पशुहरूजस्तै हो।
13 तिनीहरूको यो चाल तिनीहरूको मूर्खता हो, तरै पनि तिनीहरूको पछि आउने पुस्ताले तिनीहरूका भनाइहरू समर्थन गर्छ। सेला#
14 भेड़ाहरूझैं तिनीहरू चिहानमा सुताइन्छन्; मृत्यु तिनीहरूमा चर्छ; अनि बिहानै सीधा चालका मानिसहरूले तिनीहरूमाथि शासन गर्नेछन्; अनि तिनीहरूको वासस्थानबाट तिनीहरूको सुन्दरता चिहानभित्र नष्‍ट हुनेछ।
15 तर परमेश्‍वरले मेरो प्राणलाई मृत्युको पन्जाबाट छुटकारा दिनुहुनेछ; किनकि उहाँले मलाई ग्रहण गर्नुहुनेछ। सेला#
16 जब कोही धनी हुन्छ, जब त्यसको घरको महिमा बढ़्छ, तब तिमी नडराऊ;
17 किनकि जब त्यो मर्छ, त्यसले केही पनि बोकेर लैजानेछैन; त्यसको महिमा त्यसको पछि-पछि चिहानमा ओर्लनेछैन।
18 आफू बाँचुन्जेल त्यसले आफ्नो प्राणलाई धन्यको भने तापनि – जब तिमीले आफ्नै भलाइ गर्दछौ, मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन् –
19 त्यो आफ्नै पितापुर्खाहरूको पुस्ताकहाँ जानेछ; तिनीहरूले कहिल्यै ज्योति देख्‍नेछैनन्।
20 मान-सम्मान पाएको मानिस भए पनि त्यसको समझचाहिँ छैन भने त्यो नष्‍ट भइजाने पशुहरूजस्तै हो।