कोरहवंशीहरूका निम्ति गीत र भजन
48
अनि परमप्रभु महान् हुनुहुन्छ; र हाम्रा परमेश्‍वरको शहरमा, उहाँको पवित्र पर्वतमा उहाँ अत्यन्तै स्तुतिको योग्य हुनुहुन्छ।
2 उचाइमा सुन्दर, सम्पूर्ण पृथ्वीको हर्ष सियोन पर्वत हो, जुनचाहिँ उत्तरीय भागहरूमा अवस्थित छ; त्‍यो महाराजाको शहर हो।
3 त्यसका महलहरूमा परमेश्‍वर शरणस्थानको रूपमा चिनिनुभएको छ।
4 किनकि हेर, राजाहरू भेला भए; तिनीहरू एकसाथ पार भएर गए।
5 तिनीहरूले यो देखे; यसकारण तिनीहरू चकित भए; तिनीहरू आत्तिए, र आतुरिँदै भागे।
6 त्यहीं डरले र सुत्केरी व्यथामा परेकी स्त्रीको जस्तै व्यथाले तिनीहरूलाई पक्र्यो।
7 तपाईंले टर्शिशका जहाजहरू पूर्वीय बतासले भत्काउनुहुन्छ।
8 जस्तो हामीले सुनेका थियौं, त्यस्तै हामीले सेनाहरूका परमप्रभुको शहरमा, हाम्रा परमेश्‍वरको शहरमा देखेका छौं; परमेश्‍वरले त्यसलाई सधैंका निम्ति स्थिर पार्नुहुनेछ। सेला#
9 तपाईंको मन्दिरको बीचमा हामीले, हे परमेश्‍वर, तपाईंको करुणाको विषयमा सोचेका छौं।
10 तपाईंको नामअनुसार हे परमेश्‍वर, तपाईंको प्रशंसा पृथ्वीका छेउ-छेउसम्म हुन्छ; तपाईंको दाहिने हात धार्मिकताले भरिपूर्ण छ।
11 तपाईंका न्यायहरूको कारणले सियोन पर्वत रमाओस्, यहूदाका छोरीहरू आनन्दित होऊन्।
12 सियोनको चारैतिर घुम, त्यसलाई परिक्रमा गर; त्यसका धरहराहरू गन!
13 त्यसका पर्खालहरूमाथि राम्ररी दृष्‍टि लगाओ; त्यसका महलहरूमा ध्यान देओ, जसबाट तिमीहरूले आउनेवाला पुस्तालाई यो कुरा बताउन सक!
14 किनकि यिनै परमेश्‍वर सदा-सर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँ नै मृत्युसम्म हाम्रा अगुवा हुनुहुनेछ।