प्रधान वादकका लागि; कोरहवंशीहरूका निम्ति एउटा भजन
47
हे जाति-जातिका सबै मानिसहरूहो, ताली बजाओ; विजयको स्वरमा परमेश्वरको जयजयकार गर!2 किनकि परमप्रधान परमप्रभु भययोग्य हुनुहुन्छ; उहाँ सारा पृथ्वीमाथि महाराजा हुनुहुन्छ।
3 उहाँले जाति-जातिका मानिसहरूलाई हाम्रो अधीनतामा र देश-देशलाई हाम्रा पाउमुनि पार्नुहुनेछ।
4 उहाँले हाम्रा निम्ति हाम्रो अधिकारको भाग अर्थात् याकूबको श्रेष्ठता चुन्नुहुनेछ, जसलाई उहाँले प्रेम गर्नुभयो। सेला#
5 परमेश्वर जयजयकारको साथ, परमप्रभु तुरहीको ध्वनिको साथ उँभो जानुभएको छ।
6 परमेश्वरको स्तुति गाओ, स्तुति गाओ; हाम्रा राजाको स्तुति गाओ, स्तुति गाओ!
7 किनकि परमेश्वर सम्पूर्ण पृथ्वीका राजा हुनुहुन्छ; समझसहितक तिमीहरूले उहाँको स्तुति गाओ!
8 परमेश्वरले अन्यजातिहरूमाथि राज्य गर्नुहुन्छ; परमेश्वर आफ्नो पवित्रताको सिंहासनमाथि बस्नुहुन्छ।
9 जाति-जातिका शासकहरू, अर्थात् अब्राहामका परमेश्वरका जनहरू भेला भएका छन्; किनकि पृथ्वीका ढालहरू परमेश्वरकै हुन्; उहाँ अति उच्च हुनुहुन्छ।