प्रधान वादकका लागि; कोरहवंशीहरूका निम्ति; ‘अलामोत’-रागमा; एउटा गीत
46
परमेश्‍वर हाम्रा शरणस्थान र बल, सङ्कष्‍टहरूमा तुरुन्तै पाइने सहायता हुनुहुन्छ।
2 यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी हटिजाओस्, चाहे पहाड़हरू समुद्रको गहिराइमा हालिऊन्;
3 चाहे त्यसका पानीहरू गर्जून् र छाल उठाऊन्; चाहे त्यो उर्लेर आएकोले पहाड़हरू काँपून्। सेला#
4 एउटा नदी छ, जसका धाराहरूले परमेश्‍वरको शहरलाई, अर्थात् परमप्रधानका निवासस्थानहरूको पवित्रस्थानलाई आनन्दित तुल्याउनेछन्।
5 परमेश्‍वर त्यसको बीचमा हुनुहुन्छ; त्यो डगमगाउनेछैन; सखारै परमेश्‍वरले त्यसलाई सहायता गर्नुहुनेछ।
6 अन्यजातिहरू क्रोधित भए, राज्यहरू डगमगाए; उहाँले आफ्नो आवाज निकाल्नुभयो, पृथ्वी पग्लियो।
7 सेनाहरूका परमप्रभु हाम्रो साथमा हुनुहुन्छ; याकूबका परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला#
8 आओ, परमप्रभुका कामहरू हेर; उहाँले पृथ्वीमा कस्ता-कस्ता विनाशका कामहरू गर्नुभएको छ।
9 उहाँले पृथ्वीको छेउसम्म नै लड़ाइँहरू बन्द गराउनुहुन्छ; उहाँले धनु भाँच्‍नुहुन्छ र भाला टुक्रा-टुक्रा पार्नुहुन्छ; उहाँले रथहरू आगोमा जलाउनुहुन्छ।
10 शान्त रहो, र परमेश्‍वर म नै हुँ भनी जान; म अन्यजातिहरूको बीचमा उच्‍च पारिनेछु, म पृथ्वीमा उच्‍च पारिनेछु।
11 सेनाहरूका परमप्रभु हाम्रो साथमा हुनुहुन्छ; याकूबका परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला#