प्रधान वादकका लागि, ‘शोशन्‍निम’-रागमा; कोरहवंशीहरूका निम्ति मस्किल; एक प्रेमको गीत
45
एउटा सुन्दर विषयले मेरो हृदय भरिएर पोखिरहेको छ; म राजाको विषयमा मैले रचेको कविता सुनाउँछु; मेरो जिब्रो निपुण लेखकको कलम हो।
2 तपाईं मानिसका सन्तानभन्दा सुन्दर हुनुहुन्छ; तपाईंका ओठहरूमा अनुग्रह खन्याइएको छ; यसैकारण परमेश्‍वरले तपाईंलाई सदा-सर्वदाका निम्ति आशिषित तुल्याउनुभएको छ।
3 हे परम सामर्थी, आफ्नो महिमा र आफ्नो प्रतापको साथ आफ्नो तरवार कम्मरमा भिर्नुहोस्!
4 अनि सत्यता, नम्रता र धार्मिकताको कारणले आफ्नो प्रतापमा सफलतापूर्वक सवारी हुनुहोस्; अनि तपाईंको दाहिने हातले तपाईंलाई भयानक कुराहरू सिकाउनेछ।
5 राजाका शत्रुहरूको मुटुमा तपाईंका काँड़हरू तीखा छन्; जसले गर्दा जाति-जातिका मानिसहरू तपाईंमुनि ढल्दछन्।
6 हे परमेश्‍वर, तपाईंको सिंहासन सदा-सर्वदा रहिरहन्छ; न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो।
7 तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्‍वरले, तपाईंका परमेश्‍वरले, तपाईंलाई तपाईंका साथीहरूलाई भन्दा बढ़ी हर्षको तेलले अभिषेक गर्नुभएको छ।
8 तपाईंका सबै वस्त्रहरूबाट गन्धरस, अगरु र तेजपातको सुगन्ध महकिन्छ; हस्तिहाड़का महलहरूबाट, जसद्वारा तिनीहरूले तपाईंलाई आनन्दित तुल्याएका छन्।
9 तपाईंका आदरयोग्य स्त्रीहरूको बीचमा राजाहरूका छोरीहरू थिए; तपाईंको दाहिने हातपट्टि रानी ओपिरको सुनले सुसज्जित भई उभिइन्।
10 हे छोरी, सुन, विचार गर र आफ्नो कान थाप; अनि आफ्नै मानिसहरूलाई र आफ्नो बुबाको घर पनि बिर्स!
11 तब राजाले तिम्रो सुन्दरताको अति चाहना गर्नुहुनेछ; किनकि उहाँ नै तिम्रा प्रभु हुनुहुन्छ; र तिमी उहाँलाई दण्‍डवत्‌ गर!
12 टायरकी छोरी पनि सौगातसहित त्यहाँ उपस्थित हुन्छिन्; मानिसहरूमध्येका धनवान्‌हरूले पनि तिम्रो निगाह पाउनका निम्ति विन्‍ती गर्नेछन्।
13 राजाकी छोरी महलभित्र अति महिमित छिन्; तिनको वस्त्रमा सुनका बेलबुट्टा हानिएका छन्।
14 कार्चोपी वस्त्रमा तिनी राजाकहाँ पुर्‍याइनेछिन्; तिनका कुमारी सहेलीहरू, जो तिनको पछि-पछि हिँड़्छन्, तपाईंकहाँ ल्याइनेछन्।
15 हर्ष र रमाहटको साथमा उनीहरू ल्याइनेछन्; उनीहरू राजाको महलभित्र पस्‍नेछन्।
16 तपाईंका पितापुर्खाहरूको सट्टामा तपाईंका छोराहरू हुनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा शासकहरू बनाउनुहुनेछ।
17 म तपाईंको नामलाई पुस्ता-पुस्तासम्म सम्झना गरिने तुल्याउनेछु; यसकारण जाति-जातिका मानिसहरूले सदा-सर्वदा तपाईंको स्तुति गर्नेछन्।