प्रधान वादकका लागि; कोरहवंशीहरूका निम्ति ‘मस्किल’
44
हे परमेश्वर, हामीले आफ्ना कानले सुनेका छौं; हाम्रा पितापुर्खाहरूका दिनहरूमा अर्थात् प्राचीनकालहरूमा तपाईंले के-के काम गर्नुभयो, सो उनीहरूले हामीलाई बताएका छन्।2 तपाईंले आफ्नै हातले अन्यजातिहरूलाई धपाउनुभयो, र उनीहरूलाई बसाल्नुभयो; तपाईंले ती जातिहरूलाई सताउनुभयो र निकाल्नुभयो।
3 किनकि उनीहरूले आफ्नै तरवारले त्यस देशलाई अधिकारमा ल्याएका होइनन्, न ता उनीहरूकै बाहुबलले उनीहरूलाई बचायो; तर तपाईंको दाहिने हातले, तपाईंको बाहुबलले अनि तपाईंको चेहराको ज्योतिले यसो गरेको हो; किनभने उनीहरूमाथि तपाईंले आफ्नो कृपादृष्टि राख्नुभयो।
4 हे परमेश्वर, तपाईं मेरा राजा हुनुहुन्छ; याकूबका निम्ति छुटकाराहरूको आज्ञा दिनुहोस्!
5 तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई दबाउनेछौं; तपाईंको नामद्वारा नै हामी हाम्रा विरोधमा उठ्नेहरूलाई कुल्चनेछौं।
6 किनकि म आफ्नो धनुमाथि भरोसा राख्नेछैनँ, न ता मेरो तरवारले मलाई बचाउनेछ।
7 तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई शर्ममा पार्नुभएको छ।
8 दिनभरि नै हामी आफ्ना परमेश्वरमा गर्व गर्छौं र सदा तपाईंको नामको प्रशंसा गर्छौं। सेला#
9 तर अब तपाईंले हामीलाई अफाल्नुभएको छ र हामीलाई शर्ममा पार्नुभएको छ, अनि हाम्रा सेनाहरूको साथमा जानुहुन्न।
10 तपाईंले हामीलाई शत्रुदेखि पिठ्यूँ फर्केर भाग्ने तुल्याउनुहुन्छ; हामीलाई घृणा गर्नेहरूले आफ्ना निम्ति लुटपिट गर्छन्।
11 भोजनका निम्ति ठहराइएका भेड़ाहरूझैं तपाईंले हामीलाई सुम्पनुभएको छ; अनि हामीलाई अन्यजातिहरूको बीचमा तितरबितर पार्नुभएको छ।
12 तपाईं आफ्ना जनहरूलाई सित्तैंमा बेच्नुहुन्छ र उनीहरूको दामले आफ्नो धनको वृद्धि गर्नुहुन्न।
13 तपाईंले हामीलाई हाम्रा छिमेकीहरूको सामु निन्दाको कारण, र हाम्रा वरिपरि हुनेहरूको सामु हाँसो र खिसीको पात्र तुल्याउनुहुन्छ।
14 तपाईंले हामीलाई अन्यजातिहरूको बीचमा उपमा र मानिसहरूको बीचमा टाउको हल्लाउने विषय बनाउनुहुन्छ।
15 मेरो बेइज्जत निरन्तर मेरो सामु छ; अनि मेरो चेहराको शर्मले मलाई ढाकेको छ –
16 बदनाम गर्ने र निन्दा गर्नेको आवाजको कारणले; शत्रु र बदला लिनेको कारणले।
17 यो सबै कुरा हामीमाथि आइपरेको छ; तरै पनि हामीले तपाईंलाई बिर्सेका छैनौं; न ता तपाईंको वाचाको विषयमा झूटा व्यवहार गरेका छौं।
18 हाम्रो हृदय पछि हटेको छैन, न ता हाम्रा पाइलाहरू तपाईंको मार्गबाट तर्केका छन् –
19 यद्यपि तपाईंले हामीलाई स्यालहरूको ठाउँमा खूब कुच्च्याउनुभएको छ र मृत्युको छायाले हामीलाई ढाक्नुभएको छ।
20 हामीले आफ्ना परमेश्वरको नाम बिर्सेका छौं भने, अथवा हाम्रा हातहरू बिरानो देवतातिर फैलाएका छौं भने
21 के परमेश्वरले यसको पत्ता लगाउनुहुनेछैन र? किनकि उहाँले हृदयका गुप्त कुराहरू जान्नुहुन्छ।
22 हो, तपाईंका निम्ति हामी दिनभरि मारिएका छौं; हामी काट्न ल्याइएका भेड़ाहरूजस्तै गनिएका छौं।
23 हे प्रभु, बिउँझनुहोस्; तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्; हामीलाई सदाका निम्ति नत्याग्नुहोस्!
24 किन तपाईं आफ्नो चेहरा लुकाउनुहुन्छ? हाम्रो कष्ट र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्छ?
25 किनकि हाम्रो प्राण धूलोसम्मै झुकेको छ; हाम्रो पेट धरतीमा टाँसिएको छ।
26 हाम्रो सहायताका निम्ति उठ्नुहोस्, र आफ्नो करुणाको खातिर हामीलाई छुटकारा दिनुहोस्क!