43
हे परमेश्‍वर, मेरो न्याय गर्नुहोस्, र भक्तिहीन जातिको विरोधमा मेरो मुद्दा लड़्नुहोस्; छली र अन्यायी मानिसबाट मलाई छुटाउनुहोस्!
2 किनकि तपाईं मेरो शक्तिको परमेश्‍वर हुनुहुन्छ; तपाईं मलाई किन अफाल्नुहुन्छ? शत्रुको थिचोमिचोले गर्दा म किन शोक गर्दै हिँड़्छु?
3 तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्; तिनीहरूले मलाई डोर्‍याऊन्; तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत र तपाईंको निवासस्थानहरूमा ल्याइपुर्‍याऊन्।
4 तब म परमेश्‍वरको वेदीमा, परमेश्‍वरकहाँ जानेछु, जो मेरो असीम आनन्द हुनुहुन्छ; अनि हे परमेश्‍वर, मेरा परमेश्‍वर, वीणा बजाएर म तपाईंको स्तुति गर्नेछु।
5 हे मेरो प्राण, तँ किन खिन्‍न हुन्छस्? अनि किन तँ मभित्र व्याकुल हुन्छस्? परमेश्‍वरमाथि आशा राख्; किनकि म अझै पनि उहाँको स्तुति गर्नेछु, जो मेरो चेहराको स्वास्थ्य र मेरा परमेश्‍वर हुनुहुन्छ।