प्रधान वादकका लागि; दाऊदको भजन
40
मैले धीरजसँग परमप्रभुको बाटो हेरें; र उहाँ मतिर झुक्नुभयो, र मेरो पुकार सुन्नुभयो।2 अनि उहाँले मलाई सत्यानाशको खाड़ल, दलदले हिलोबाट तानेर निकाल्नुभयो र मेरा पाउहरू चट्टानमाथि बसाल्नुभयो; उहाँले मेरा पाइलाहरू दृढ़ पार्नुभयो।
3 अनि उहाँले मेरो मुखमा एउटा नयाँ गीत, अँ, हाम्रा परमेश्वरको स्तुति हाल्नुभएको छ; धेरैजनाले यो देख्नेछन्, र डराउनेछन्, अनि परमप्रभुमाथि भरोसा राख्नेछन्।
4 धन्य हो त्यो मानिस, जसले परमप्रभुलाई आफ्नो भरोसा बनाउँछ, अनि घमण्डीहरू र झूटतिर लाग्नेहरूलाई ध्यान दिँदैन।
5 हे परमप्रभु मेरा परमेश्वर, तपाईंले गर्नुभएका तपाईंका अचम्मका कामहरू र हाम्रा निम्ति सोच्नुभएका तपाईंका विचारहरू धेरै छन्; तिनलाई तपाईंका निम्ति क्रमैसँग राख्न सकिँदैनक; मैले तिनीहरूको विषयमा बताउन र बोल्न चाहें भने ती गन्ती गर्न सकिने भन्दा ज्यादा छन्।
6 बलिदान र भेटी तपाईंले चाहनुभएन; मेरा कान तपाईंले खोल्नुभएको छ; होमबलि र पापबलि तपाईंले माग्नुभएन।
7 तब मैले भनें: “हेर्नुहोस्, म आएको छु; पुस्तकमाख मेरो विषयमा यो लेखिएको छ:
8 ‘हे मेरा परमेश्वर, तपाईंको इच्छा पूरा गर्न म प्रसन्न हुन्छु; हो, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।’ ”
9 ठूलो सभामा मैले धार्मिकताको प्रचार गरेको छु; हेर्नुहोस्, मैले मेरा ओठ बन्द राखेको छैनँ; हे परमप्रभु, तपाईं जान्नुहुन्छ।
10 मैले तपाईंको धार्मिकता मेरो हृदयभित्रै लुकाइराखेको छैनँ; मैले तपाईंको विश्वासयोग्यता र तपाईंको उद्धारको घोषणा गरेको छु; मैले तपाईंको करुणा र तपाईंको सत्यता ठूलो सभाबाट लुकाएको छैनँ।
11 हे परमप्रभु, तपाईंका कोमल कृपाहरू मलाई दिनदेखि नरोकिनुहोस्; तपाईंको करुणा र तपाईंको सत्यताले निरन्तर मेरो रक्षा गरून्।
12 किनकि अनगन्ती खराबीहरूले मलाई घेरेका छन्; मेरा अधर्महरूले मलाई यतिसम्म पक्रेका छन्, कि म आँखा माथि उठाउन सक्दिनँ; ती मेरा टाउकाको केशभन्दा पनि बढ़ी छन्; यसैले मेरो मनले हरेश खाएको छ।
13 हे परमप्रभु, मलाई छुटाउन कृपालु हुनुहोस्; हे परमप्रभु, मलाई सहायता गर्न हतार गर्नुहोस्!
14 मेरो प्राणलाई नाश गर्न खोज्नेहरू एकसाथ लज्जित होऊन् र शर्ममा परून्; मेरो खराबी चाहनेहरू पछिल्तिर हटाइऊन् र शर्ममा परून्!
15 मलाई आहा, आहा भन्नेहरू तिनीहरूका शर्मको प्रतिफल-स्वरूप उजाड़ होऊन्!
16 तपाईंको खोजी गर्नेहरू सबै रमाऊन् र तपाईंमा आनन्दित होऊन्; तपाईंको उद्धारलाई प्रेम गर्नेहरूले निरन्तर भनून्: “परमप्रभुको बढ़ाइ होस्!”
17 तर म त गरिब र खाँचोमा परेको छु; तर पनि प्रभुले मेरो चिन्ता गर्नुहुन्छ; तपाईं मेरा सहायता र मेरा उद्धारक हुनुहुन्छ; हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्!