प्रधान वादक यदूतूनका लागि; दाऊदको भजन
39
मैले भनें: “आफ्नो जिब्रोले पाप नगरूँ भनेर म आफ्ना चालचलनहरूमा होशियार हुनेछु; दुष्‍ट मेरो सामु हुँदा म आफ्नो मुखमा लगाम लगाउनेछु।”
2 चुप लागेर म गुँगा बनें, असल कुरा पनि नबोली म चुप लागें; अनि मेरो शोक बढ्यो।
3 मेरो हृदय मभित्र-भित्रै तातियो; मैले विचार गर्दा-गर्दै आगो सल्कियो; तब म आफ्नो जिब्रोले बोलें:
4 “हे परमप्रभु, मलाई मेरो अन्त र मेरो आयुको नाप कति छ, सो जान्‍न दिनुहोस्, र म कति क्षण-भङ्गुर रहेछु, सो जानूँ!
5 हेर्नुहोस्, तपाईंले मेरो आयु बित्ताभरिको बनाउनुभएको छ; अनि तपाईंको सामु मेरो उमेर केही पनि होइन; साँच्‍ची नै हरेक मानिस, जति नै उत्तम अवस्थामा किन नहोस्, ऊ बिलकुल व्यर्थ हो।” सेला#
6 साँच्‍ची नै हरेक मानिस व्यर्थको प्रदर्सनमा हिँड़्डुल गर्दछ; साँच्‍ची नै तिनीहरू व्यर्थमा बेचैन हुन्छन्; त्यसले धनसम्पत्ति थुपार्छ, तर त्यो कसले बटुल्छ, सो जान्दैन।
7 अनि अब हे प्रभु, म के कुरालाई पर्खूं? मेरो आशा तपाईंमा छ।
8 मलाई मेरा सबै अपराधहरूबाट छुटकारा दिनुहोस्; मलाई मूर्खहरूको निन्दाको पात्र नतुल्याउनुहोस्!
9 म गुँगा भएँ, मैले आफ्नो मुख खोलिनँ; किनकि तपाईंले नै यसो गर्नुभयो।
10 तपाईंको प्रहार मदेखि हटाउनुहोस्; तपाईंको हातको मुक्‍काले म नाश भएको छु।
11 जब तपाईंले अधर्मको कारण मानिसलाई हप्काई-हप्काई सुधार्नुहुन्छ, तब त्यसको सुन्दरता पुतलीलाई झैं नष्‍ट पार्नुहुन्छ; साँच्‍ची नै हरेक मानिस व्यर्थ हो। सेला#
12 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्, र मेरो पुकारतिर कान लगाउनुहोस्; मेरा आँसु देखेर चुप नरहनुहोस्; किनकि म तपाईंको साथमा परदेशी हुँ, मेरा सबै पितापुर्खाहरूजस्तै एक प्रवासी हुँ।
13 मलाई छोड़िदिनुहोस्, र म यहाँबाट जानुभन्दा पहिले र रहँदै नरहनुभन्दा पहिले म फेरि बल पाउन सकूँ!