सम्झनाका निम्ति; दाऊदको भजन
38
हे परमप्रभु, आफ्नो क्रोधमा मलाई नहप्काउनुहोस्; आफ्नो तातो रिसमा मलाई ताड़ना नदिनुहोस्!
2 किनकि तपाईंका काँड़हरू ममा गाड़िएका छन्; र तपाईंको हातले मलाई जोड़ले थिच्छ।
3 तपाईंको रिसले गर्दा मेरो शरीरमा कुनै तन्दुरुस्ती छैन; मेरो पापले गर्दा मेरा हड्डीहरूमा कुनै चैन छैन।
4 किनकि मेरा अधर्महरूले मेरो शिरलाई नाघेका छन्; गह्रौं भारीझैं ती मेरा निम्ति बोकिनसक्ने भएका छन्।
5 मेरो मूर्खताले गर्दा मेरा घाउहरू गन्हाउँछन्, र सड़ेका छन्।
6 म घबराएको छु; म ज्यादै कुप्रिएको छु; दिनभरि म विलाप गर्दै हिँड़्छु।
7 किनभने मेरो कम्मर जलनले भरिएको छ; मेरो शरीरमा कहीं तन्दुरुस्ती छैन।
8 म कमजोर र साह्रै चूर भएको छु; मेरो हृदयको बेचैनीले गर्दा मैले बिलौना गरेको छु।
9 हे प्रभु, मेरो सम्पूर्ण चाहना तपाईंको अघि प्रकट छ; अनि मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु धड़्कन्छ; मेरो बलले मलाई छोड़ेको छ; मेरा आँखाहरूको ज्योतिचाहिँ – यो पनि मबाट गइसकेको छ।
11 मेरा प्रेमीहरू र मेरा साथीहरू मेरो घाउबाट टाढ़ै उभिन्छन्, अनि मेरा आफन्तहरू टाढ़ै उभिन्छन्।
12 मेरो प्राण लिन खोज्‍नेहरू पनि मेरा निम्ति पासो थाप्छन्; अनि मेरो हानि गर्न खोज्‍नेहरू हानिकारक कुराहरू बोल्छन् र दिनभरि छलका कुराहरू सोच्छन्।
13 तर मैले चाहिँ बहिरोले झैं सुनिनँ; अनि म मुखै नखोल्ने गुँगा मानिसजस्तो थिएँ।
14 यसरी म सुन्दै नसुन्‍ने मानिसजस्तो थिएँ, र जसको मुखमा हप्कीहरू हुँदैनन्।
15 किनकि हे परमप्रभु, म तपाईंमा आशा राख्दछु; हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले नै सुन्‍नुहुनेछ।
16 किनकि मैले भनें: “मेरो विन्‍ती सुन्‍नुहोस्, नत्र ता तिनीहरू ममाथि रमाउनेछन्; मेरो पाउ चिप्लँदा तिनीहरू मेरो विरोधमा आफ्नो बढ़ाइ गर्छन्।”
17 किनकि म ढल्नै लागेको छु; मेरो शोक निरन्‍तर मेरै अघि छ।
18 किनकि म मेरो अधर्म प्रकट गर्नेछु; मेरो पापका निम्ति म दुःखित हुनेछु।
19 तर मेरा शत्रुहरू फूर्तिला छन् र तिनीहरू बलिया छन्; अनि गलत कारणले मलाई घृणा गर्नेहरू धेरै भएका छन्।
20 भलाइको सट्टामा खराबी गर्नेहरू पनि मेरा विरोधी भएका छन्; किनकि म असल कुराको पछि लाग्दछु।
21 हे परमप्रभु, मलाई नत्याग्‍नुहोस्; हे मेरा परमेश्‍वर, मदेखि टाढ़ा नहुनुहोस्!
22 हे प्रभु, मेरा उद्धार, मलाई सहायता गर्न हतार गर्नुहोस्!