(दुई-दुई पद वर्णको क्रमअनुसार राखिएको भजन)
दाऊदको भजन
37
दुष्ट कर्म गर्नेहरूको कारणले मनलाई अमिलो नपार; न ता कुकर्मीहरूलाई डाहा गर!2 किनकि तिनीहरू चाँड़ै घाँसझैं काटिनेछन्, र हरियो सागपातझैं ओइलिनेछन्।
3 परमप्रभुमाथि भरोसा राख, र भलाइ गर; र तिमी देशमा बस्नेछौ, अनि निश्चय तृप्त हुनेछौ।
4 अनि परमप्रभुमा मग्न होऊ; र उहाँले तिम्रा हृदयका चाहनाहरू पूरा गरिदिनुहुनेछ।
5 आफ्नो मार्गको चिन्ताक परमप्रभुलाई सुम्प, र उहाँमाथि भरोसा पनि राख; तब उहाँले त्यो पुर्याउनुहुनेछ।
6 अनि उहाँले तिम्रो धार्मिकता ज्योतिझैं र तिम्रो न्याय मध्यदिनको प्रकाशझैं गरी प्रकट गर्नुहुनेछ।
7 परमप्रभुमा अड़ेस लाग, र धीरजसँग उहाँको बाटो हेर; आफ्नो बाटोमा सफल हुने मान्छेको कारणले र दुष्ट युक्तिहरू पूरा गर्ने मान्छेको कारणले मनलाई अमिलो नपार!
8 रिस थाम, र क्रोधलाई त्याग; मनलाई अमिलो नपार; निश्चय खराबी मात्र निस्कन्छ।
9 किनकि दुष्टहरू नाश हुनेछन्; तर परमप्रभुको बाटो हेर्नेहरूचाहिँ पृथ्वीका हकवालाख हुनेछन्।
10 किनकि अझै एक छिन, र दुष्ट रहनेछैन; अँ, तिमीले त्यसको ठाउँ यत्न गरेर सोच्नेछौ, अनि त्यो त्यहाँ हुनेछैन।
11 तर नम्रहरूचाहिँ पृथ्वीका हकवालाख हुनेछन्, र शान्तिको भरपूरीमा मग्न हुनेछन्।
12 दुष्टले धर्मी जनको विरोधमा जाल रच्छ र उसको विरोधमा आफ्नो दाह्रा किट्छ।
13 प्रभु त्यसलाई खिसी गरेर हाँस्नुहुनेछ; किनकि त्यसको दिन आइरहेको उहाँ देख्नुहुन्छ।
14 गरिब र खाँचोमा परेकोलाई ढाल्न र सीधा चाल चल्नेहरूलाई मार्न दुष्टहरूले तरवार थुतेका छन् र धनुमा ताँदो चढ़ाएका छन्।
15 तिनीहरूको तरवार तिनीहरूकै मुटुमा पस्नेछ, र तिनीहरूका धनु भाँचिनेछन्।
16 धर्मी जनको थोरै चीज नै धेरै दुष्टहरूको धनसम्पत्तिभन्दा उत्तम हो।
17 किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्; तर परमप्रभुले धर्मी जनहरूलाई सम्हाल्नुहुन्छ।
18 परमप्रभुले सीधा चाल चल्नेहरूको आयु जान्नुहुन्छ; र उनीहरूको हकको सम्पत्ति सदा रहिरहनेछ।
19 खराब समयमा उनीहरू शर्ममा पर्नेछैनन्; अनि अनिकालका समयमा उनीहरू तृप्त रहनेछन्।
20 तर दुष्टहरू नाश हुनेछन्, र परमप्रभुका शत्रुहरूचाहिँ पाठाहरूका बोसोझैं हुनेछन्; ती भस्म हुनेछन्, ती धूवाँमा बिलाउनेछन्।
21 दुष्टले ऋण लिन्छ र तिर्दैन; तर धर्मी जनले कृपा देखाउँछ र दिन्छ।
22 किनकि उहाँबाट आशिष् पाउनेहरू पृथ्वीका हकवालाख हुनेछन्; अनि उहाँद्वारा श्राप पाउनेहरूचाहिँ नाश हुनेछन्।
23 असल मानिसका पाइलाहरू परमप्रभुद्वारा नै सुव्यवस्थित हुन्छन्; अनि उहाँ उसको चालमा प्रसन्न रहनुहुन्छ।
24 ऊ लड़िहाले तापनि पूर्ण रूपले लोटिएरै रहनेछैन; किनकि परमप्रभुले उसलाई आफ्नो हातले सम्हाल्नुहुन्छ।
25 म जवान थिएँ, र अहिले बूढ़ो भएको छु; तर पनि मैले धर्मी जनलाई त्यागिएको देखेको छैनँ, न ता उसको सन्तानलाई रोटीको भीख माग्दै गरेको देखेको छु।
26 ऊ सदा कृपालु रहन्छ, र ऋण दिन्छ; अनि उसको सन्तान आशिषित हुन्छ।
27 खराबीदेखि अलग रह, र भलाइ गर; र सदा रहिरह!
28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ, र आफ्ना पवित्र जनहरूलाई त्याग्नुहुन्न; उनीहरू सदा-सर्वदा सुरक्षित हुन्छन्; तर दुष्टहरूका सन्तानचाहिँ नाश हुनेछन्।
29 धर्मी जनहरू देशका हकवालाख हुनेछन्, र सदा-सर्वदा त्यसमा बसिरहनेछन्।
30 धर्मी जनको मुखले बुद्धिको कुरा बोल्छ; र उसको जिब्रोले न्यायको कुरा गर्छ।
31 उसका परमेश्वरको व्यवस्था उसको हृदयमै हुन्छ; उसका पाइलाहरू एउटै पनि चिप्लनेछैन।
32 दुष्टले धर्मी जनलाई ताकिबस्छ र उसलाई मार्न खोज्छ।
33 परमप्रभुले उसलाई त्यसको हातमा छोड़्नुहुनेछैन, न ता उसको न्याय हुँदाखेरि उसलाई दोषी ठहराउनुहुनेछ।
34 परमप्रभुको बाटो हेर र उहाँको मार्ग पक्रिराख; र देशको हकवालाख बनाउनलाई उहाँले तिमीलाई उच्च पार्नुहुनेछ; दुष्टहरू नाश भएका तिमीले देख्नेछौ।
35 मैले दुष्टलाई बड़ो सामर्थी भएको र देशको हरियो रूखझैं फैलेको देखेको छु।
36 तर पनि त्यो बितेर गयो; अनि हेर, त्यो रहेनछ; अँ, मैले त्यसलाई खोजें, तर त्यो पाइएन।
37 सिद्ध मानिसलाई चिनिराख र सीधा चाल चल्नेलाई हेर; किनकि यस्तो मानिसको अन्त शान्तिमय हुन्छ।
38 तर अपराधीहरूचाहिँ एकसाथ नष्ट हुनेछन्; दुष्टहरूको अन्तचाहिँ विनाश हुनेछ।
39 तर धर्मी जनहरूको उद्धार परमप्रभुबाट हुन्छ; सङ्कटको समयमा उहाँ नै उनीहरूको बल हुनुहुन्छ।
40 अनि परमप्रभुले उनीहरूलाई सहायता गर्नुहुनेछ, र उनीहरूलाई छुटकारा दिनुहुनेछ; उहाँले उनीहरूलाई दुष्टहरूबाट छुटकारा दिनुहुनेछ, र उनीहरूलाई बचाउनुहुनेछ; किनकि उनीहरू उहाँमाथि भरोसा राख्छन्।