प्रधान वादकका लागि; परमप्रभुको दास दाऊदको भजन
36
त्यसका आँखाको सामु परमेश्वरको डर छैन भनी दुष्टको अपराधले मेरो हृदयभित्र भन्दछ।2 किनकि त्यसको आफ्नै नजरमा आफ्नो अधर्म घृणित नठहरुन्जेल त्यसले आफूलाई सर्काइबस्छ।
3 त्यसका मुखका वचनहरू अधर्म र छल हुन्छन्; त्यसले बुद्धिमान् हुन र भलाइ गर्न छोड़ेको छ।
4 त्यसले आफ्नो ओछ्यानमाथि नै दुष्ट युक्ति रच्छ; त्यसले आफूलाई जुन बाटो ठीक छैन, त्यसैमा लगाउँछ; त्यसले खराबीलाई घृणा गर्दैन।
5 हे परमप्रभु, तपाईंको करुणा आकाशमा छ; तपाईंको विश्वासयोग्यता बादलहरूसम्म पुग्छ।
6 तपाईंको धार्मिकता ठूला-ठूला पहाड़हरूझैं छ; तपाईंका न्यायहरू गहिरो सागरझैं छन्; हे परमप्रभु, तपाईं मानिस र पशुको रक्षा गर्नुहुन्छ।
7 हे परमेश्वर, तपाईंको करुणा कति उत्तम छ! यसैकारण मानिसका सन्तानहरूले तपाईंका पखेटाहरूको छायामुनि शरण लिन्छन्।
8 उनीहरू तपाईंको भवनको पोसिलो पदार्थलेक प्रशस्त गरी तृप्त हुनेछन्; अनि तपाईंले आफ्ना सुखहरूको नदीबाट उनीहरूलाई पिउन दिनुहुनेछ।
9 किनकि जीवनको मूल तपाईंसँग छ; तपाईंको ज्योतिमा हामीले ज्योति देख्नेछौं।
10 तपाईंलाई चिन्नेहरूमाथि आफ्नो करुणा, र सीधा हृदय हुनेहरूमाथि आफ्नो धार्मिकता जारी राख्नुहोस्!
11 घमण्डको लात ममाथि नआओस्, अनि दुष्टहरूको हातले मलाई नहटाओस्!
12 त्यहाँ कुकर्मीहरू लड़ेका छन्; तिनीहरू तल फ्याँकिएका छन्, र उठ्न सक्नेछैनन्।