दाऊदको भजन
35
मसित झगड़ा गर्नेहरूसँग, हे परमप्रभु, मुद्दा लड़्नुहोस्; मसँग लड़ाइँ गर्नेहरूसित लड़ाइँ गर्नुहोस्!
2 सानो ढाल र ठूलो ढाल उठाउनुहोस्, र मेरा सहायताका निम्ति खड़ा हुनुहोस्!
3 भाला पनि थुत्‍नुहोस्, र मलाई खेद्‍नेहरूको विरोधमा बाटो छेक्नुहोस्; मेरो प्राणलाई भन्‍नुहोस्: “तेरो उद्धार म नै हुँ।”
4 मेरो प्राण लिन खोज्‍नेहरू लज्जित होऊन् र शर्ममा परून्; मेरो हानि गर्नलाई युक्ति रच्‍नेहरू पछिल्तिर हटाइऊन् र शर्ममा परून्।
5 तिनीहरू बतासको सामु भुसजस्ता होऊन्; अनि परमप्रभुका दूतले तिनीहरूलाई खेदून्।
6 तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्; र परमप्रभुका दूतले तिनीहरूलाई खेदून्।
7 किनकि विनाकारण नै तिनीहरूले आफ्नो जाल मेरा निम्ति खाड़लभित्र लुकाएका थिए; विनाकारण नै तिनीहरूले मेरो प्राणका निम्ति खाड़ल खनेका थिए।
8 थाहा नपाई त्यसमाथि विनाश आइपरोस्; र त्यसले लुकाएको त्यसको जालमा त्यो आफै फसोस्, त्यही विनाशभित्र त्यो आफू परोस्!
9 तर मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ; उहाँको उद्धारमा यो रमाउनेछ।
10 मेरा सबै हड्डीहरूले भन्‍नेछन्: “हे परमप्रभु, तपाईंजस्तो को छ र? जसले दु:खमा परेकालाई ऊभन्दा बलियो मानिसबाट छुटाउनुहुन्छ, अँ, दरिद्र र खाँचोमा परेकालाई उसलाई लुट्नेबाट छुटाउनुहुन्छ।”
11 झूटा साक्षीहरू खड़ा भए; तिनीहरूले मलाई थाहै नभएका कुराहरूको अभियोग लगाए।
12 तिनीहरूले मलाई मेरो प्राण शोकित होउन्जेल भलाइको सट्टामा खराबी गरे।
13 तर मैले त, तिनीहरू बिरामी हुँदा भाङराको लुगा पहिरन्थें; उपवास बसेर म आफ्नो मनलाई नम्र तुल्याउँथें; अनि मेरो प्रार्थना मेरै छातीमा फर्कन्थ्यो।
14 आफ्नै साथी वा भाइलाई झैं मैले त्यससँग व्यवहार गर्थें; आफ्नै आमाका निम्ति विलाप गर्नेले झैं मैले शोक गरी आफूलाई झुकाउँथें।
15 तर मेरो दुर्दशामा तिनीहरू रमाए, र एकसाथ भेला भए; अँ, मेरो विरोधमा नीच मानिसहरू भेला हुन्थे; अनि मलाई त्यो थाहा हुँदैनथियो; तिनीहरूले मलाई फहराए, र रोकिएनन्।
16 भोजमा कपटी उपहास गर्नेहरूको साथमा तिनीहरूले मेरो विरोधमा दाह्रा किटे।
17 हे प्रभु, तपाईं कहिलेसम्म हेरिरहनुहुन्छ? मेरो प्राणलाई तिनीहरूले रचेका विनाशहरूबाट, मेरो एकमात्र प्राणलाई जवान सिंहहरूबाट छुटाउनुहोस्!
18 ठूलो सभामा म तपाईंलाई धन्यवाद चढ़ाउनेछु; धेरै मानिसहरूको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।
19 तिनीहरू जो विनाकारण मेरा शत्रु हुन्, ममाथि रमाउन नपाऊन्; न ता विनाकारण नै मलाई घृणा गर्नेहरूले आँखा झिम्काउन पाऊन्।
20 किनकि तिनीहरू मिलापको कुरा गर्दैनन्; तर देशमा शान्तिसित बस्‍नेहरूको विरोधमा छलकपटका युक्तिहरू रच्छन्।
21 हो, तिनीहरूले मेरो विरोधमा आफ्नो मुख बाएका छन्, अनि “आहा, आहा, हाम्रो आँखाले देख्यो” भनेका छन्।
22 यो कुरा तपाईंले देख्‍नुभएको छ, हे परमप्रभु; चुप नलाग्‍नुहोस्; हे प्रभु, मदेखि टाढ़ा नहुनुहोस्!
23 जाग्‍नुहोस्, मेरो न्यायका निम्ति उठ्नुहोस्; हे मेरा परमेश्‍वर र मेरा प्रभु, मेरो मुद्दाका निम्ति उठ्नुहोस्!
24 हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताअनुसार मेरो न्याय गर्नुहोस्; अनि तिनीहरूले ममाथि रमाउन नपाऊन्!
25 तिनीहरूले आफ्ना हृदयमा “आहा, यस्तै हामीले चाहेका थियौं” भन्‍न नपाऊन्; “हामीले त्यसलाई निल्यौं” भनी तिनीहरूले भन्‍न नपाऊन्!
26 मलाई चोट पर्दा रमाउनेहरू एकसाथ लज्जित होऊन् र शर्ममा परून्; मेरो विरोधमा आफूलाई ठूला बनाउनेहरू शर्म र अपमानको वस्त्र पहिराइऊन्।
27 मेरो धर्ममय मामलाको पक्ष लिनेहरू हर्षले चिच्च्याऊन् र आनन्दित होऊन्; अँ, उनीहरूले निरन्‍तर यसो भनिरहून्: “आफ्नो दासको उन्‍नतिमा प्रसन्‍न हुनुहुने परमप्रभुको बढ़ाइ होस्!”
28 अनि मेरो जिब्रोले सारा दिनभरि नै तपाईंको धार्मिकता र तपाईंको स्तुतिको बयान गरिरहनेछ।