(वर्णको क्रमअनुसार राखिएको भजन)
दाऊदको भजन; जब उनले अबिमेलेकको सामु आफ्नो चाल बदले, जसले उनलाई धपाए, र उनी हिँड़े।
34
हर बखत म परमप्रभुलाई धन्यको भन्‍नेछु; निरन्‍तर उहाँको प्रशंसा मेरो मुखमा हुनेछ।
2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ; नम्रहरूले यो सुन्‍नेछन्, र आनन्दित हुनेछन्।
3 मसँग परमप्रभुको बढ़ाइ गर; हामी मिलेर उहाँको नाम उच्‍च पारौं!
4 मैले परमप्रभुको खोजी गरें; अनि उहाँले मेरो विन्‍ती सुन्‍नुभयो, र मलाई मेरा सबै डरहरूदेखि छुटकारा दिनुभयो।
5 उनीहरूले उहाँलाई हेरे, र ज्योतिर्मय भए; अनि उनीहरूका अनुहारहरू लज्जित भएनन्।
6 यस दु:खीले पुकार्‍यो; र परमप्रभुले उसको विन्‍ती सुन्‍नुभयो, अनि उसलाई उसका सबै कष्‍टहरूबाट बचाउनुभयो।
7 परमप्रभुको भय मान्‍नेहरूका चारैतिर उहाँको दूतले छाउनी लाउँछन् र उनीहरूलाई छुटकारा दिन्छन्।
8 अहो, चाखेर हेर; परमप्रभु कति भला हुनुहुन्छ!! उहाँमाथि भरोसा गर्ने मानिस धन्यको हो।
9 हे परमप्रभुका पवित्र जनहरूहो, उहाँको भय मान; किनकि उहाँको भय मान्‍नेहरूलाई कुनै कुराको घटी हुँदैन।
10 जवान सिंहहरूलाई घटी हुन्छ, र ती भोकै रहन्छन्; तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुराको घटी हुनेछैन।
11 हे छोराछोरीहरूहो, आओ, मेरा कुरा सुन; म तिमीहरूलाई परमप्रभुको भय सिकाउनेछु।
12 त्यो मानिस को हो, जसले जीवनको चाहना गर्दछ, र भलाइ देखूँ भनी दीर्घायु मन पराउँछ?
13 आफ्नो जिब्रो खराबीबाट र आफ्ना ओठ छलका कुरा बोल्नबाट जोगाऊ!
14 खराबीदेखि टाढ़ा बस, र भलाइ गर; मिलापको खोज गर, र यसकै पछि लाग!
15 परमप्रभुका आँखाहरू धर्मी जनहरूमाथि लागिरहन्छन्, र उहाँका कानहरू उनीहरूको पुकार सुन्‍न खुला रहन्छन्।
16 पृथ्वीबाट तिनीहरूको सम्झनाधरि मेटाइदिन परमप्रभुको चेहरा खराबी गर्नेहरूको विरोधमा हुन्छ।
17 धर्मी जनहरूले पुकार्दछन्; अनि परमप्रभुले सुन्‍नुहुन्छ, र उनीहरूलाई उनीहरूका सबै कष्‍टहरूबाट छुटकारा दिनुहुन्छ।
18 परमप्रभु टुटेको हृदय हुनेहरूको नजिकमा हुनुहुन्छ, र पश्‍चात्तापले चूर्ण भएको आत्मा हुनेहरूलाई बचाउनुहुन्छ।
19 धर्मी जनलाई धेरै कष्‍टहरू त हुन्छन्, तर परमप्रभुले उसलाई ती सबैबाट छुटकारा दिनुहुन्छ।
20 उहाँले उसका सबै हड्डीहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै पनि भाँचिँदैन।
21 खराबीले दुष्‍टलाई मार्नेछ; अनि धर्मी जनलाई घृणा गर्नेहरू दोषी ठहरिनेछन्।
22 परमप्रभुले आफ्ना दासहरूको प्राणलाई छुटकारा गर्नुहुन्छ; उहाँमाथि भरोसा गर्नेहरूमध्ये एकैजना पनि दोषी ठहरिनेछैन।