33
हे धर्मी जनहरूहो, परमप्रभुमा रमाओ; किनकि सीधा चालकाहरूलाई प्रशंसा गर्न सुहाउँछ।2 वीणा बजाएर परमप्रभुको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका निम्ति स्तुति गाओ!
3 उहाँका निम्ति एउटा नयाँ गीत गाओ; उच्च सोरमाक दक्षतापूर्वक बजाओ!
4 किनकि परमप्रभुको वचन ठीक छ; अनि उहाँका सबै कामहरू सत्यतामा गरिएका हुन्छन्।
5 उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ; पृथ्वी परमप्रभुको भलाइले भरपूर छ।
6 परमप्रभुको वचनद्वारा आकाश, र उहाँको मुखको सासद्वारा तिनका सारा गणहरू बनिएका हुन्।
7 उहाँले समुद्रका पानीलाई रास पारेझैं थुपार्नुहुन्छ; उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीहरूमा राख्नुहुन्छ।
8 सारा पृथ्वीले परमप्रभुको भय मानोस्; संसारका सबै बासिन्दाहरू उहाँको डरले भयभीत होऊन्!
9 किनकि उहाँ बोल्नुभयो, र त्यो भइगयो; उहाँले आज्ञा गर्नुभयो, र त्यो खड़ा भयो।
10 परमप्रभुले अन्यजातिहरूको सरसल्लाह फासफुस पार्नुहुन्छ; उहाँले जाति-जातिका मानिसहरूका युक्तिहरू निष्फल तुल्याउनुहुन्छ।
11 परमप्रभुको सल्लाह सदा-सर्वदा स्थिर रहन्छ; उहाँको मनका विचारहरू पुस्ता-पुस्तासम्म स्थिर रहन्छन्।
12 धन्य हो त्यो जाति, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ; र ती मानिसहरू, जसलाई उहाँले आफ्नो निज सम्पत्तिको रूपमा चुन्नुभएको छ।
13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ; उहाँले मानिसका सबै सन्तानहरूलाई देख्नुहुन्छ।
14 आफ्नो वासस्थानबाट उहाँले पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।
15 उहाँले तिनीहरूका हृदयहरू एकै किसिमको पार्नुहुन्छ; उहाँले तिनीहरूका सबै कामहरू विचार्नुहुन्छ।
16 कुनै पनि राजा सेनाको भीड़द्वारा बचाइँदैनन्; शक्तिशाली मानिस ठूलो बलद्वारा छुटाइँदैन।
17 बचाउका निम्ति घोड़ा व्यर्थको कुरा हो, न ता त्यसले आफ्नो ठूलो बलद्वारा कसैलाई बचाउनेछ।
18 हेर, परमप्रभुको आँखा उहाँको भय मान्नेहरूमाथि रहन्छ, उनीहरूमाथि, जसले उहाँको करुणामाथि आशा राख्दछन् –
19 उनीहरूको प्राण मृत्युबाट छुटकारा दिनलाई र अनिकालको समयमा उनीहरूलाई जीवित राख्नलाई।
20 हाम्रो प्राणले परमप्रभुको बाटो हेर्दछ; उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ।
21 किनकि उहाँमा हाम्रो हृदय रमाउनेछ; किनकि हामीले उहाँको पवित्र नाममाथि भरोसा राखेका छौं।
22 हे परमप्रभु, हामीले तपाईंमा आशा राखेअनुसार तपाईंको करुणा हामीमाथि रहोस्!