प्रधान वादकका लागि; दाऊदको भजन
41
धन्य हो त्यो मानिस, जसले गरिबको वास्ता गर्दछ; सङ्कष्‍टको समयमा परमप्रभुले उसलाई छुटकारा दिनुहुनेछ।
2 परमप्रभुले उसको जगेड़ा गर्नुहुनेछ र उसलाई जीवित राख्‍नुहुनेछ; पृथ्वीमा ऊ आशिषित हुनेछ; अनि तपाईंले उसलाई उसका शत्रुहरूको इच्छामा सुम्पनुहुनेछैन।
3 परमप्रभुले उसलाई रोगको ओछ्यानमा नै सम्हाल्नुहुनेछ; उसको बिमारीमा तपाईंले उसको सबै ओछ्यान बदली गरिदिनुहुनेछ
4 मैले भनें: “हे परमप्रभु, मप्रति कृपालु हुनुहोस्, मेरो प्राणलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरोधमा पाप गरेको छु।”
5 मेरा शत्रुहरूले मेरो विषयमा खराब कुरा बोल्छन्: “कहिले त्यो मर्ला, र त्यसको नाम मेटिएला?”
6 अनि त्यो मलाई हेर्न आयो भने पनि त्यसले व्यर्थको कुरा बोल्छ; त्यसको हृदयले आफूसँग अधर्म बटुल्छ; बाहिर निस्केपछि त्यसले त्यही कुरा भन्छ।
7 मलाई घृणा गर्नेहरू सबै एकसाथ मेरो विरोधमा कानेखुसी गर्छन्; मेरो विरोधमा तिनीहरू मेरो हानि गर्ने युक्ति रच्छन्।
8 तिनीहरू भन्छन्: “त्यसलाई खराब रोगले पक्रेको छ; र अहिले त्यो ओछ्यानमा परेको छ; त्यो कहिल्यै उठ्नेछैन।”
9 हो, मेरो आफ्नै परिचित मित्रले, जसमाथि मैले भरोसा राखेको थिएँ, जसले मेरो रोटी खान्थ्यो, मेरो विरोधमा कुर्कुच्‍चा उठाएको छ।
10 तर तपाईं हे परमप्रभु, मप्रति कृपालु हुनुहोस् र मलाई उठाउनुहोस्, र म तिनीहरूलाई बदला दिन सकूँ!
11 यसैबाट म जान्दछु, तपाईं ममाथि निगाह राख्‍नुहुन्छ; किनभने मेरा शत्रुहरू ममाथि विजयी हुँदैनन्।
12 अनि मलाई चाहिँ – मेरो इमानदारीमा तपाईंले मलाई सम्हाल्नुहुन्छ र सदाका लागि मलाई आफ्नो मुखको सामु राख्‍नुहुन्छ।
13 इस्राएलका परमेश्‍वर परमप्रभु अनादिदेखि अनन्तसम्म धन्यका होऊन्! आमेन, र आमेन!!