प्रधान वादकका लागि; दाऊदको भजन
31
हे परमप्रभु, म तपाईंमाथि भरोसा राख्छु; म कहिल्यै लाजमा नपरूँ; तपाईंको धार्मिकतामा मलाई छुटकारा दिनुहोस्!
2 तपाईंको कान मतिर लगाउनुहोस्; मलाई छिटो छुटकारा दिनुहोस्! तपाईं मेरो बलियो चट्टान र मलाई बचाउनलाई रक्षा गर्ने किल्‍ला बन्‍नुहोस्!
3 किनकि तपाईं मेरा चट्टान र मेरा किल्‍ला हुनुहुन्छ; यसकारण आफ्नो नामको खातिर मलाई डोर्‍याउनुहोस् र मलाई अगुवाइ गर्नुहोस्!
4 तिनीहरूले मेरा निम्ति सुटुक्‍क थापेको जालबाट मलाई निकाल्नुहोस्; किनकि तपाईं मेरा बल हुनुहुन्छ।
5 म आफ्नो आत्मा तपाईंको हातमा सुम्पन्छु; हे परमप्रभु, सत्यका परमेश्‍वर, तपाईंले मलाई छुटकारा गर्नुभएको छ
6 झूटा व्यर्थताहरूमा मन लगाउनेहरूलाई मैले घृणा गरेको छु; तर म परमप्रभुमाथि भरोसा राख्दछु।
7 म आनन्दित हुनेछु र तपाईंको करुणामा रमाउनेछु; किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभएको छ; दुर्दशाहरूमा तपाईंले मेरो प्राणलाई चिन्‍नुभएको छ,
8 र मलाई शत्रुको हातभित्र सुम्पनुभएको छैन; तपाईंले मेरा पाउलाई एउटा फराकिलो ठाउँमा बसाल्नुभएको छ।
9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्; किनकि म सङ्कटमा परेको छु; शोकले मेरो आँखा खाइसकेको छ, अँ, मेरो प्राण र मेरो पेटलाई पनि।
10 किनकि मेरो जीवन शोकमा र मेरा वर्ष सुस्केरामा बितेका छन्; मेरै अधर्मको कारणले मेरो बल घटेको छ र मेरा हड्डीहरू सुकिसकेका छन्।
11 मेरा सबै शत्रुहरूको बीचमा, विशेष गरी मेरा छिमेकीहरूको बीचमा म निन्दाको कारण बनेको थिएँ र मेरा चिनारुहरूका लागि म डरको कारण बनेको थिएँ; जतिले मलाई बाहिर देख्थे, ती मदेखि भाग्थे।
12 मरेको मान्छेसरह म मनबाट नै बिर्सिएको छु; म फुटेको भाँड़ासरह भएको छु।
13 किनकि धेरैको मुखबाट मैले निन्दा सुनेको छु; चारैतिर डरैडर थियो; तिनीहरूले मिलेर मेरो विरोधमा मतो गर्दा तिनीहरूले मेरो प्राणै लिने युक्ति गरे।
14 तर हे परमप्रभु, मैले तपाईंमाथि भरोसा राखें; मैले भनें: “तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।”
15 मेरा समयहरू तपाईंको हातमा छन्; मेरा शत्रुहरूको हातदेखि र मलाई सताउनेहरूदेखि मलाई छुटाउनुहोस्!
16 आफ्नो दासमाथि आफ्नो चेहरा चम्काउनुहोस्; आफ्नो करुणाको खातिर मलाई बचाउनुहोस्!
17 हे परमप्रभु, म लाजमा नपरूँ; किनकि मैले तपाईंलाई पुकारेको छु; दुष्‍टहरू नै लाजमा परून्, र तिनीहरू नै चिहानमा चुपचाप रहून्।
18 झूट बोल्ने ओठहरू चुप पारिऊन्, जसले धर्मी जनको विरोधमा घमण्डसँग र हेला गरेर कष्‍टदायक कुराहरू बक्दछन्।
19 आहा, तपाईंको भलाइ कति महान् छ, जुन भलाइ तपाईंले तपाईंको भय मान्‍नेहरूका निम्ति साँचेर राख्‍नुभएको छ, जुनचाहिँ तपाईंले मानिसका सन्तानहरूको सामु तपाईंमाथि भरोसा गर्नेहरूका निम्ति तयार पार्नुभएको छ!
20 तपाईंले उनीहरूलाई आफ्नो उपस्थितिको गुप्‍त स्थानभित्र मानिसको घमण्डदेखि लुकाएर राख्‍नुहुनेछ; तपाईंले उनीहरूलाई एउटा मण्डपभित्र जिब्राहरूको झगड़ादेखि टाढ़ामा गुप्‍त रीतिले राख्‍नुहुनेछ।
21 परमप्रभु धन्यका होऊन्; किनकि उहाँले एउटा बलियो शहरमा अद्‌भूत रीतिले मप्रति आफ्नो करुणा देखाउनुभएको छ।
22 किनभने मेरो आत्तुरीमा मैले भनें: “म तपाईंका आँखाबाट अलग पारिएको छु;” तर पनि जब मैले तपाईंलाई पुकारें, तब तपाईंले मेरा विन्‍तीहरूको सोर सुन्‍नुभयो।
23 हे परमप्रभुका सबै पवित्र जनहरूहो, उहाँलाई प्रेम गर; किनकि परमप्रभुले विश्‍वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ अनि अहङ्कार गर्नेलाई प्रशस्त गरी बदला दिनुहुन्छ।
24 हे सबै परमप्रभुमाथि आशा राख्‍नेहरूहो, साहसिला होओ; र उहाँले तिमीहरूको हृदय बलियो पार्नुहुनेछ