भवनको समर्पणमा; दाऊदको भजन र गीत
30
हे परमप्रभु, म तपाईंको बढ़ाइ गर्दछु; किनकि तपाईंले मलाई माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि आनन्द मनाउने तुल्याउनुभएको छैन।
2 हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई पुकारें, र तपाईंले मलाई निको पार्नुभयो।
3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई अधोलोकबाट माथि निकाल्नुभएको छ; म तल खाड़लमा नपरूँ भनेर तपाईंले मलाई जीवित राख्‍नुभएको छ।
4 हे परमप्रभुका पवित्र जनहरूहो, उहाँका निम्ति गीत गाओ र उहाँको पवित्रताको सम्झनामा धन्यवाद चढ़ाओ!
5 किनकि उहाँको क्रोध त क्षणभरको मात्र हो; उहाँकै निगाहमा जीवन छ; रुवाइ रातभर रहला, तर बिहानै आनन्द आउँछ।
6 अनि मेरो फलिफाप हुँदा मैले भनें: “म कहिल्यै डगमगाउनेछैनँ।”
7 हे परमप्रभु, तपाईंको निगाहमा तपाईंले मेरो पहाड़ बलियो गरी खड़ा हुने तुल्याउनुभयो; तपाईंले आफ्नो चेहरा लुकाउनुभयो, र म विचलित भएँ।
8 हे परमप्रभु, मैले तपाईंलाई पुकारें; अनि प्रभुलाई मैले विन्‍ती चढ़ाएँ।
9 जब म खाड़लमा जाउँला, तब मेरो रगतमा के लाभ छ र? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के यसले तपाईंको सत्यताको घोषणा गर्छ र?
10 हे परमप्रभु, सुन्‍नुहोस्, र ममाथि दया गर्नुहोस्; हे परमप्रभु, तपाईं मेरा सहायक बन्‍नुहोस्!
11 तपाईंले मेरा निम्ति मेरो विलाप नाचमा परिवर्तन गर्नुभएको छ; तपाईंले मेरो भाङराको लुगा फुकालिदिनुभएको छ र हर्षले मेरो कम्मर कस्‍नुभएको छ;
12 यस हेतुले कि मेरो महिमाले तपाईंको स्तुति गाओस्, र चुप नलागोस्। हे परमप्रभु मेरा परमेश्‍वर, म सदा तपाईंलाई धन्यवाद चढ़ाउनेछु।