(वर्णको क्रमअनुसार राखिएको भजन)
दाऊदको भजन
25
हे परमप्रभु, म आफ्नो मन तपाईंतिर नै उठाउँछु।
2 हे मेरा परमेश्‍वर, म तपाईंमाथि भरोसा राख्छु; म लाजमा नपरूँ, मेरा शत्रुहरू ममाथि विजयी हुन नपाऊन्!
3 अँ, तपाईंको बाटो हेर्ने कोही पनि लाजमा नपरोस्; विनाकारण अपराध गर्नेहरू नै लाजमा परून्!
4 हे परमप्रभु, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका चालहरू सिकाउनुहोस्!
5 मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा उद्धारका परमेश्‍वर हुनुहुन्छ; दिनभरि म तपाईंकै बाटो हेर्दछु।
6 हे परमप्रभु, आफ्ना कोमल कृपाहरू र आफ्ना करुणाहरूको सम्झना गर्नुहोस्; किनकि ती सनातनदेखिकै हुन्।
7 मेरा जवानीका पापहरू र मेरा अपराधहरूको सम्झना नगर्नुहोस्; तपाईंकै भलाइको खातिर तपाईंको करुणाअनुसार तपाईंले मलाई सम्झना गर्नुहोस्, हे परमप्रभु!
8 परमप्रभु भला र सीधा चालका हुनुहुन्छ; यसकारण उहाँले पापीहरूलाई यस मार्गमा शिक्षा दिनुहुनेछ।
9 नम्रहरूलाई उहाँले न्यायको मार्गमा डोर्‍याउनुहुनेछ; अनि नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ।
10 उहाँको वाचा र उहाँका साक्षी-वचनहरू पालन गर्नेहरूका निम्ति परमप्रभुका सबै बाटाहरू करुणा र सत्यता हुन्।
11 तपाईंको नामको खातिर, हे परमप्रभु, मेरो अधर्म क्षमा गर्नुहोस्; किनकि त्यो ठूलो छ।
12 त्यो मानिस को हो, जसले परमप्रभुको भय मान्दछ? उसलाई उहाँले आफूले जुन मार्ग चुन्‍नुहुनेछ, सोही मार्गको शिक्षा दिनुहुनेछ।
13 उसको प्राण चैनसँग रहनेछ; अनि उसको सन्तान पृथ्वीको हकवाला बन्‍नेछ।
14 परमप्रभुको रहस्य उनीहरूसँगै रहन्छ, जसले उहाँको भय मान्दछन्; अनि उहाँले उनीहरूलाई आफ्नो वाचा प्रकट गर्नुहुनेछ।
15 निरन्‍तर मेरा आँखाहरू परमप्रभुतर्फ लागेका छन्; किनकि उहाँले नै मेरा खुट्टाहरू जालबाट निकाल्नुहुनेछ।
16 मतर्फ फर्कनुहोस्, र ममाथि दया गर्नुहोस्; किनकि म एक्लो र पीड़ित छु।
17 मेरो हृदयका दु:खहरू बढ़ेका छन्; मलाई मेरा कष्‍टहरूबाट निकाल्नुहोस्!
18 मेरो कष्‍ट र मेरो पीड़ामाथि नजर लगाउनुहोस्; अनि मेरा सबै पापहरू क्षमा गर्नुहोस्!
19 मेरा शत्रुहरूलाई विचार गर्नुहोस्; किनकि तिनीहरू धेरै छन्; अनि तिनीहरूले क्रूरतापूर्वक मलाई घृणा गर्छन्
20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्; म लाजमा नपरूँ; किनकि म तपाईंमाथि भरोसा राख्दछु।
21 इमानदारी र सीधा चालले मलाई सुरक्षित राखून्; किनकि म तपाईंकै बाटो हेर्दछु।
22 हे परमेश्‍वर, इस्राएललाई त्यसका सबै दु:खहरूबाट छुटकारा गर्नुहोस्!