दाऊदको भजन
24
पृथ्वी र यसको भरपूरी परमप्रभुकै हुन्, संसार र यसमा बस्नेहरू पनि;2 किनकि उहाँले समुद्रहरूमाथि यसको जग बसाल्नुभएको छ र पानीहरूमाथि यसलाई स्थापित गर्नुभयो।
3 परमप्रभुको पर्वतमाथि को चढ़्ला? अथवा उहाँको पवित्रस्थानमा को उभिएला?
4 ऊ, जसका हात सफा छन् र जसको हृदय शुद्ध छ; जसले आफ्नो मन व्यर्थको कुरातिर लगाएको छैन, न ता कपट राखेर शपथ खाएको छ।
5 उसले परमप्रभुबाट आशिष् र उसको उद्धारका परमेश्वरबाट धार्मिकता पाउनेछ।
6 यो पुस्ता तिनीहरूको हो, जसले उहाँको खोजी गर्दछन्, जसले तपाईंको चेहरा खोज्दछन्, हे याकूब! सेला#
7 हे मूलढोकाहरूहो, आफ्ना शिर उठाओ; अनि हे अनन्त ढोकाहरूहो, उच्च होओ; र महिमाका राजा भित्र आउनुहुनेछ।
8 यी महिमाका राजा को हुनुहुन्छ? परमप्रभु, बलिया र सामर्थी; परमप्रभु, लड़ाइँमा सामर्थी।
9 हे मूलढोकाहरूहो, आफ्ना शिर उठाओ; अनि हे अनन्त ढोकाहरूहो, ती उठाओ; र महिमाका राजा भित्र आउनुहुनेछ।
10 यी महिमाका राजा को हुनुहुन्छ? सेनाहरूका परमप्रभु, उहाँ नै महिमाका राजा हुनुहुन्छ। सेला#