प्रधान वादकका लागि; दाऊदको भजन
21
हे परमप्रभु, राजाले तपाईंको सामर्थ्यमा आनन्द मनाउनेछन्, अनि तपाईंको उद्धारमा उनी कति धेरै रमाउनेछन्!
2 तपाईंले उनको हृदयको चाहनाअनुसार उनलाई दिनुभएको छ र उनका ओठको माग अस्वीकार गर्नुभएको छैन। सेला#
3 किनकि तपाईंले उत्तम-उत्तम आशिष्‌हरू लिएर उनलाई भेट्नुहुन्छ; तपाईंले उनको शिरमाथि निखुर सुनको मुकुट राखिदिनुहुन्छ।
4 उनले तपाईंसित जीवन मागे, अनि तपाईंले उनलाई त्यो दिनुभयो – सदा-सर्वदा रहने लामो आयु।
5 तपाईंको उद्धारमा उनको महिमा ठूलो छ; तपाईंले उनीमाथि आदर र श्रेष्‍ठता राखिदिनुभएको छ।
6 किनकि तपाईंले उनलाई सदाका निम्ति अति आशिषित बनाउनुभएको छ; तपाईंले आफ्नो चेहराले उनलाई अत्यन्तै आनन्दित तुल्याउनुभएको छ।
7 किनकि राजाले परमप्रभुमाथि भरोसा राख्दछन्, अनि परमप्रधानको करुणाले गर्दा उनी डगमगाइनेछैनन्।
8 तपाईंको हातले तपाईंका सबै शत्रुहरूलाई भेट्टाउनेछ; तपाईंको दाहिने हातले तपाईंलाई घृणा गर्नेहरूलाई भेट्टाउनेछ।
9 तपाईंको क्रोधको समयमा तपाईंले तिनीहरूलाई जलिरहेको भट्टीझैं तुल्याउनुहुनेछ; परमप्रभुले तिनीहरूलाई आफ्नो क्रोधमा निल्नुहुनेछ; अनि आगोले तिनीहरूलाई भस्म पार्नेछ।
10 तपाईंले तिनीहरूको फललाई पृथ्वीदेखि र तिनीहरूको वंशलाई मानिसका सन्तानहरूको बीचबाट नष्‍ट गर्नुहुनेछ।
11 किनकि तिनीहरूले तपाईंको विरोधमा खराब विचार गरे; तिनीहरूले हानिकारक युक्तिको कल्पना गरे, जुन युक्ति तिनीहरूले पूरा गर्न सक्दैनन्।
12 यसकारण जब तपाईंले तिनीहरूको विरोधमा आफ्ना काँड़हरू ताँदोमा चढ़ाएर तयार पार्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई आफ्नो पिठ्यूँ फर्काएर भाग्‍ने तुल्याउनुहुनेछ।
13 हे परमप्रभु, आफ्नै सामर्थ्यमा तपाईं उच्‍च हुनुहोस्; र हामी गाउनेछौं र तपाईंको सामर्थ्यको प्रशंसा गर्नेछौं।