दाऊदको प्रार्थना
17
हे परमप्रभु, न्यायसङ्गत कुरा सुन्नुहोस्, मेरो पुकारप्रति ध्यान दिनुहोस्; कपटविनाका ओठहरूबाट निस्केको मेरो प्रार्थनातिर कान लगाउनुहोस्!2 मेरो मामलाको फैसला तपाईंको उपस्थितिबाट आओस्! जुन कुराहरू न्यायसङ्गत छन्, ती कुरामाथि तपाईंका आँखाहरू लागिरहून्!
3 तपाईंले मेरो हृदय जाँच्नुभएको छ; तपाईंले मलाई रातको समयमा भेट्नुभएको छ; तपाईंले मलाई जाँच्नुभएको छ; र तपाईंले केही भेट्टाउनुहुनेछैन; मेरो मुखले कुनै अपराध गर्नेछैन भनी मैले निश्चय गरेको छु।
4 मानिसहरूका कामहरूको विषयमा – तपाईंका ओठको वचनद्वारा मैले आफूलाई नष्ट गर्नेका मार्गहरूबाट बचाएर राखेको छु।
5 मेरा कदमहरू तपाईंका मार्गहरूमा सुदृढ़ गराउनुहोस्, र मेरा पाइलाहरू नचिप्लून्! 6 मैले तपाईंलाई पुकारेको छु; किनकि हे परमेश्वर, तपाईंले मेरो पुकार सुन्नुहुनेछ। आफ्नो कान मतिर लगाउनुहोस्, र मेरो कुरा सुन्नुहोस्!
7 तपाईं जसले आफ्नो दाहिने हातले तपाईंमाथि भरोसा राख्नेहरूलाई उनीहरूको विरोधमा उठ्नेहरूबाट बचाउनुहुन्छ, आफ्नो अद्भूत करुणा देखाउनुहोस्!
8 आँखाको नानीलाई झैं मलाई रक्षा गर्नुहोस्; तपाईंका पखेटाहरूको छायामुनि मलाई लुकाउनुहोस् –
9 ती दुष्टहरूबाट, जसले मलाई थिचोमिचो गर्छन्; मेरा घातकक शत्रुहरूबाट, जसले मलाई चारैतिर घेरा लाउँछन्।
10 तिनीहरू आफ्नो बोसोभित्र पुरिएका छन्; आफ्ना मुखले तिनीहरू घमण्डसाथ बोल्छन्।
11 तिनीहरूले अहिले हामीलाई कदम-कदममा घेरेका छन्; तिनीहरूले भुइँमा घोप्टेर आफ्ना आँखाहरू गाड़ेका छन्,
12 आफ्नो शिकारको लोभ गर्ने सिंहले झैं र गुप्त स्थानहरूमा ढुकिबस्ने जवान सिंहले झैं।
13 हे परमप्रभु, उठ्नुहोस्, त्यसको सामना गर्नुहोस्, त्यसलाई पछारिदिनुहोस्; आफ्नो तरवारले मेरो प्राणलाई त्यस दुष्टबाट बचाउनुहोस्!
14 हे परमप्रभु, तपाईंको हातले ती मान्छेहरूबाट, यस संसारका मानिसहरूबाट बचाउनुहोस्, जसको भाग यसै जीवनमा छ र जसको पेट तपाईंले आफ्नो गुप्त धनले भर्नुहुन्छ। तिनीहरूका प्रशस्त छोराछोरीहरू छन्, अनि तिनीहरूको आफ्नो बाँकी सम्पत्ति आफ्ना बालबच्चाहरूका निम्ति छोड़िराख्छन्।
15 तर मचाहिँ धार्मिकतामा तपाईंको चेहरा निहार्नेछु। जब म बिउँझन्छु, तब तपाईंको स्वरूपमा म सन्तुष्ट हुनेछु।