प्रधान वादकका लागि; ‘शेमिनिथ’मा; दाऊदको भजन
12
हे परमप्रभु, सहायता गर्नुहोस्; किनकि भक्त मानिसको अन्त हुँदछ; किनकि मानिसका सन्तानहरूको बीचदेखि विश्‍वासयोग्यहरू मासिन्छन्।
2 तिनीहरू हरेकले आफ्नो छिमेकीसँग व्यर्थका कुरा बोल्दछन्; चिप्लो घस्‍ने ओठहरू र दुईचित्ते मनले तिनीहरू बोल्छन्।
3 सबै चिप्लो घस्‍ने ओठहरू र घमण्डका कुरा बोल्ने जिब्रोलाई परमप्रभुले काटिदिनुहुनेछ;
4 जसले भनेका छन्: “हाम्रो जिब्रोले हामी विजयी हुनेछौं; हाम्रा ओठहरू हाम्रै हुन्; हामीमाथि प्रभुत्व गर्ने को छ र?”
5 “गरिबहरूमाथिको थिचोमिचो र घटीकमीमा परेकाहरूको सुस्केराको कारणले म अब उठ्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “म उसलाई उसको खिसी गर्नेदेखि सुरक्षित राख्‍नेछु।”
6 परमप्रभुका वचनहरू शुद्ध वचनहरू हुन्, माटोको भट्टीमा निखुर पारिएको, सातपल्‍ट खारिएको चाँदीजस्तो।
7 हे परमप्रभु, तपाईंले तिनीहरूको रक्षा गर्नुहुनेछ; यस पुस्तादेखि सधैंभरि तपाईंले तिनीहरूलाई जोगाएर राख्‍नुहुनेछ।
8 जब नीच मानिसहरू उच्‍च पारिन्छन्, तब दुष्‍टहरू चारैतिर घुमिहिँड़्छन्।