10
हे परमप्रभु, तपाईं किन टाढ़ामा उभिनुहुन्छ; सङ्कष्‍टका बेलामा तपाईं किन लुक्नुहुन्छ?
2 दुष्‍टले आफ्नो घमण्डमा गरिबलाई सताउँछ; आफूले रचेका युक्तिहरूमा तिनीहरू आफै फसून्।
3 किनकि दुष्‍ट आफ्नो हृदयको चाहनामा घमण्ड गर्छ, र लोभीलाई आशीर्वाद दिन्छ, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ।
4 आफ्नो चेहराको घमण्डमा दुष्‍टले परमेश्‍वरको खोजी गर्दैन; त्यसका सबै विचारहरूमा “परमेश्‍वर हुँदै हुनुहुन्‍न” भन्‍ने हुन्छ।
5 त्यसका बाटाहरू सधैं दु:खपूर्ण हुन्छन्; तपाईंका न्यायहरू त्यसको नजरदेखि अति उच्‍चाइमा छन्। त्यसका सबै शत्रुहरूलाई त्यसले खिसी गर्छ।
6 त्यसले मन-मनमा भनेको छ: “म डग्‍नेछैनँ; किनकि म कहिल्यै विपत्तिमा पर्नेछैनँ।”
7 त्यसको मुख श्राप, धोका र छलले भरिएको छ; त्यसको जिब्रोमुनि उपद्रव र अधर्म छन्।
8 गाउँगाउँका ढुक्ने ठाउँहरूमा त्यो बस्छ; गुप्‍त स्थानहरूमा त्यसले निर्दोषको हत्या गर्छ; त्यसका आँखाहरू गरिबको विरोधमा गुप्‍त रीतिले गड़ेका हुन्छन्।
9 सिंह आफ्नो ओड़ारमा बसेझैं त्यो गुप्‍त रीतिले ढुकेर बस्छ; गरिबलाई पक्रन त्यो ढुकेर बस्छ; गरिबलाई आफ्नो जालभित्र फसाएर त्यसले उसलाई पक्रन्छ।
10 गरिबहरू त्यसका बलिया पञ्‍जाहरूमा फसून् भनेर त्यो निहुरन्छ र आफैलाई नम्र तुल्याउँछ।
11 त्यसले मन-मनमा भनेको छ: “परमेश्‍वरले बिर्सनुभएको छ; उहाँले आफ्नो चेहरा लुकाउनुहुन्छ; उहाँले यो कहिल्यै देख्‍नुहुनेछैन।”
12 हे परमप्रभु, उठ्नुहोस्; हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस्; नम्र जनहरूलाई नबिर्सनुहोस्!
13 दुष्‍टले किन परमेश्‍वरलाई तुच्छ ठान्छ? त्यसले मन-मनमा भनेको छ: “तपाईंले यसको लेखा लिनुहुनेछैन।”
14 तर तपाईंले देख्‍नुभएको छ; किनकि आफ्नो हातले बदला लिन तपाईंले उपद्रव र दु:खलाई हेर्नुहुन्छ। गरिबले आफूलाई तपाईंको हातमा सुम्पन्छ; अनाथका सहायक तपाईं नै हुनुहुन्छ।
15 दुष्‍ट र खराब मानिसको पाखुरा भाँचिदिनुहोस्; एउटै पनि नभेट्टाउन्जेल त्यसको दुष्‍टताको तलाश गर्नुहोस्!
16 परमप्रभु सदा-सर्वदाका निम्ति राजा हुनुहुन्छ; अन्यजातिहरू उहाँको देशबाट नाश भएका छन्।
17 हे परमप्रभु, तपाईंले नम्रहरूको चाहना सुन्‍नुभएको छ; तपाईंले उनीहरूको हृदय तयार पार्नुहुनेछ; तपाईंले आफ्नो कान सुन्‍न लाउनुहुनेछ,
18 अनाथ र थिचोमिचोमा परेकोको न्याय गर्नका निम्ति – पृथ्वीको मानिसले फेरि कहिल्यै थिचोमिचो नगरोस्।