दाऊदको शिग्गायोन, जुनचाहिँ उनले बेन्यामिनी कुशका वचनहरूको विषयमा परमप्रभुका निम्ति गाए
7
हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंमाथि नै म भरोसा राख्दछु; मलाई मेरा सबै सताउनेहरूबाट बचाउनुहोस्, र मलाई छुटकारा दिनुहोस्!
2 नत्र ता त्यसले सिंहले झैं मेरो प्राणलाई फहराउनेछ; छुटकारा दिने कोही नहुँदा त्यसले यसलाई टुक्रा-टुक्रा पार्नेछ।
3 हे परमप्रभु मेरा परमेश्‍वर, मैले यो गरेको छु भने, मेरा हातहरूमा अधर्म छ भने;
4 मसँग मिलापमा बस्‍नेलाई बदलामा मैले खराबी गरेको छु भने; (बरु जो विनाकारण नै मेरो शत्रु भएको छ, त्यसलाई मैले छुटाएको छु);
5 शत्रुले मेरो प्राणको खेदो गरोस् र यसलाई पक्रोस्; अँ, त्यसले मेरो ज्यानलाई भुइँमा कुल्चीमिल्ची पारोस्, र मेरो इज्जत धूलोमा मिलाओस्। सेला#
6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको कारणले आफूलाई खड़ा पार्नुहोस्; अनि तपाईंले आज्ञा गर्नुभएको न्याय गर्न मेरा निम्ति जाग्‍नुहोस्!
7 तब मानिसहरूको समुदायले तपाईंलाई घेर्नेछ; यसकारण तिनीहरूको खातिर तपाईं उच्‍च स्थानमा फर्कनुहोस्!
8 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र ममा भएको मेरो इमानदारीअनुसार मेरो न्याय गर्नुहोस्!
9 अँ, दुष्‍टहरूको दुष्‍टताको अन्त होस्, तर धर्मी जनलाई स्थिर पार्नुहोस्; किनकि धर्मी परमेश्‍वरले हृदयहरू र अन्तस्करणहरू जाँच्‍नुहुन्छ।
10 मेरो सुरक्षा परमेश्‍वरमा छ, जसले सीधा हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
11 परमेश्‍वर धर्मी जनको न्याय गर्नुहुन्छ; अनि दिनहुँ परमेश्‍वर दुष्‍टसित क्रोधित हुनुहुन्छ।
12 यदि त्यो फर्केन भने उहाँले आफ्नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्नो धनुको ताँदो चढ़ाएर त्यसलाई तयार पार्नुभएको छ। 13 अनि आफ्नो निम्ति उहाँले मृत्युका हतियारहरू तयार पार्नुभएको छ; उहाँले सताउनेहरूको विरोधमा आफ्ना काँड़हरू नियुक्त गर्नुहुन्छ।
14 हेर, त्यो कुकर्मको प्रसुति-वेदनामा छ, उपद्रवलाई गर्भ धारण गरेको छ र झूटोपनलाई जन्माएको छ।
15 त्यसले खनेर एउटा खाड़ल बनायो, अनि आफूले बनाएको त्यस खाल्डोभित्र त्‍यो खस्यो।
16 त्यसको उपद्रव त्यसकै टाउकोमाथि फर्कनेछ, र त्यसको अत्याचार त्यसकै थाप्लोमाथि आइपर्नेछ।
17 म परमप्रभुको प्रशंसा उहाँकै धार्मिकताअनुसार गर्नेछु, र परमप्रधान परमप्रभुको नामको स्तुति गाउनेछु।