प्रधान वादकका लागि; बाँसुरीहरूमा; दाऊदको भजन
5
हे परमप्रभु, मेरा शब्दहरूतिर कान लगाइदिनुहोस्; मेरो ध्यानमा विचार पुर्‍याउनुहोस्!
2 हे मेरा राजा र मेरा परमेश्‍वर, मेरो दुहाईको सोरतिर ध्यान दिनुहोस्; किनकि तपाईंलाई नै म प्रार्थना गर्नेछु।
3 हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुनेछ; बिहानै म मेरो प्रार्थना तपाईंतिर उठाउनेछु र माथितिर हेर्नेछु।
4 किनभने तपाईं दुष्‍टतामा आनन्द लिने परमेश्‍वर हुनुहुन्‍न, न ता तपाईंसित खराबी नै वास गर्नेछ।
5 मूर्खहरू तपाईंको दृष्‍टिमा उभिनेछैनन्; कुकर्म गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।
6 तपाईंले झूट बोल्नेहरूलाई नाश गर्नुहुनेछ; खूनीहरू र धोका दिने मानिसलाई परमप्रभुले घृणा गर्नुहुनेछ।
7 तर मचाहिँ तपाईंको असंख्य करुणाअनुसार तपाईंको भवनभित्र आउनेछु; अनि म तपाईंको डर राखेर तपाईंको पवित्र मन्दिरतर्फ दण्‍डवत्‌ गर्नेछु।
8 मेरा शत्रुहरूको कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस्, हे परमप्रभु; मेरो सामु तपाईंको बाटो सीधा पारिदिनुहोस्!
9 किनकि तिनीहरूको मुखमा सच्‍चाइ छैन; तिनीहरूको अन्तस्करण घोर दुष्‍टता हो; तिनीहरूको घोक्रो खुला चिहान हो; तिनीहरू आफ्ना जिब्राले चिप्लो घस्छन्।
10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरू आफ्नै युक्तिहरूद्वारा पतित होऊन्; तिनीहरूका असंख्य अपराधहरूको कारणले तिनीहरूलाई बाहिर फालिदिनुहोस्; किनकि तिनीहरूले तपाईंको विरोधमा विद्रोह गरेका छन्।
11 तर जतिले तपाईंमाथि भरोसा राख्दछन्, उनीहरू सबै रमाऊन्; उनीहरू सधैं हर्षले चिच्च्याऊन्; किनकि तपाईंले उनीहरूको रक्षा गर्नुहुन्छ; तपाईंको नामलाई प्रेम गर्नेहरू पनि तपाईंमा आनन्दित होऊन्।
12 किनकि हे परमप्रभु, तपाईंले धर्मी जनलाई आशिष्‌ दिनुहुनेछ; ढालले झैं तपाईंले उसलाई दयाले घेर्नुहुनेछ।