लिव्यातानमा परमेश्‍वरको सामर्थ्यको प्रदर्शन
41
“के तिमीले लिव्यातानलाई बल्छीले तानेर निकाल्न, वा त्यसको जिब्रो डोरीले बाँधेर दबाउन सक्छौ? 2 के तिमीले त्यसको नाकमा अङ्कुसे लगाउन वा त्यसको गाला काँड़ाले छेंड़्न सक्छौ? 3 के त्यसले तिमीलाई धेरै विन्‍तीहरू चढ़ाउला? के त्यसले तिमीसित कोमल शब्दहरू बोल्‍ला? 4 के त्यसले तिमीसित एउटा वाचा बाँध्ला? के तिमीले त्यसलाई सदाका निम्ति कमारा तुल्याउँछौ? 5 के तिमी त्यससँग चरासँग झैं खेल्छौ? अथवा के तिमीले त्यसलाई आफ्ना तरुणीहरूका निम्ति बाँध्छौ? 6 के साझेदारहरूले त्यसको बारेमा मोलतोल गर्लान्? के तिनीहरूले त्यसलाई व्यापारीहरूको बीचमा भाग लाउलान्? 7 के तिमीले त्यसको छालालाई काँड़ादार भालाहरूले, र त्यसको टाउकोलाई माछा मार्ने बर्छाहरूले ढाकिदिन सक्छौ? 8 आफ्नो हात त्यसमाथि राख! लड़ाइँको सम्झना गर! फेरि त्यसो नगर!
9 हेर, त्यसमाथि आशा राख्‍नु व्यर्थ हो; त्यसलाई देख्दैखेरि के मानिस पछारिनेछैन र? 10 त्यसलाई जगाउने दुःसाहस गर्ने मापाको मानिस कोही पनि छैन; तब मेरो सामु को उभिन सक्ला? 11 कसले मलाई पहिले दिएको छ, र म उसलाई फिर्ता दिऊँ? सम्पूर्ण आकाशमुनि जेजति छ, त्यो मेरो हो।
12 म त्यसका अङ्गप्रत्यङ्गहरूको विषयमा अनि त्यसको शक्ति र त्यसको सुन्दर बनावटको विषयमा चुप रहनेछैनँ। 13 कसले त्यसको वस्त्रको मुख खोल्न सक्छ? को त्यसका दोबर बङ्गराहरूनिर जान सक्छ? 14 कसले त्यसको मुखका ढोकाहरू खोल्न सक्छ? चारैतिर त्यसका दाँतहरू डरलाग्दा छन्। 15 त्यसका खपटाका लहरहरू त्यसको घमण्ड हुन्, जो मोहरछाप मारी बन्द गरिएझैं एकसाथ टाँसिएका हुन्छन्। 16 ती एक-अर्कासँग यति नजिकमा हुन्छन्, कि हावा पनि तिनको बीचमा पस्‍न सक्दैन। 17 ती एक-अर्कासँग जोड़िएका हुन्छन्, ती एकसाथ टाँसिएका हुन्छन्, कि ती अलग हुन सक्दैनन्। 18 त्यसले हाच्छिउँ काढ़्दा ज्योति चम्किन्छ; अनि त्यसका आँखाहरू बिहानका आँखीझ्यालहरूजस्ता छन्। 19 त्यसको मुखबाट जल्दै गरेका बत्तीहरू निस्कन्छन्, अँ, आगोका झिल्काहरू उम्कन्छन्। 20 उम्‍लिरहेको भाँड़ा वा कराहीबाट निस्केझैं त्यसको नाकका पोराहरूबाट धूवाँ निस्कन्छ। 21 त्यसको सासले कोइलाहरू सल्काउँछ, र त्यसको मुखबाट ज्वाला निस्कन्छ। 22 त्यसको गर्दनमा बल रहन्छ, र त्यसको सामु शोक नाच्छ। 23 त्यसको मासुका पत्रहरू एकसाथ टाँसिएका हुन्छन्; त्यसमाथि ती कसिएका हुन्छन्; ती डगमग हुँदैनन्। 24 त्यसको मुटु ढुङ्गाझैं सुदृढ़ हुन्छ; अँ, जाँतोको तल्‍लो फग्ल्याँटोझैं सुदृढ़ हुन्छ। 25 त्यो माथि उठ्दा शक्तिशालीहरू भयभीत हुन्छन्; डरले गर्दा तिनीहरू अकलगुम हुन्छन्। 26 त्यसमाथि चलाइएको तरवार टिक्दैन, न भाला, न काँड़, न कवच नै टिक्छ। 27 त्यसले फलामलाई परालझैं, र पित्तललाई कुहेको काठझैं ठान्छ। 28 काँड़ले त्यसलाई भगाउन सक्दैन; घुयेंत्रोले हानेका ढुङ्गाहरू त्यसका निम्ति भुसमा बदली हुन्छन्। 29 काँड़हरू भुससरह गनिन्छन्; अनि भाला हानिएको आवाज सुनेर त्यो हाँस्छ। 30 त्यसका मुनिल्‍ला भागहरू खपटाका धारिला टुक्राहरूसरह छन्; त्यसले दलदले हिलोमाथि झाँट्ने हतियार बिछाउँछ 31 त्यसले गहिराइलाई भाँड़ाको पानीलाई झैं उमाल्छ; त्यसले समुद्रलाई सुगन्धित अत्तरको भुँडुल्कोसरह तुल्याउँछ। 32 त्यसले आफ्नो पछि-पछि बाटोलाई चम्किलो पार्छ; यसैले मानिसले सागरलाई केश फुलेको झैं ठान्छ। 33 पृथ्वीमाथि त्योजस्तो अरू कुनै छैन, जो डरहीन बनाइएको छ। 34 त्यसले हरेक उच्‍च थोक हेर्छ; त्योचाहिँ घमण्डका सबै सन्तानहरूमाथि राजा हो।”