एस्तर
अहासूरसको भोज र रानी वश्‍ती
1
अहासूरसका दिनहरूमा यस्तो भयो: तिनी यिनै अहासूरस थिए, जसले भारतदेखि लिएर कूशसम्म एक सय सत्ताइस प्रान्तहरूमाथि राज्य गर्थे। 2 ती दिनहरूमा, जब राजा अहासूरस आफ्नो राज्यको सिंहासनमाथि बसेका थिए, जो शूशन दरवारमा थियो, 3 तिनको शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै शासकहरू र आफ्ना सेवकहरूका निम्ति एउटा भोज लगाए; फारस र मादीका अधिकारीहरू, भारदारहरू र प्रान्त-प्रान्तका शासकहरू तिनको सामु उपस्थित थिए; 4 त्यति बेला तिनले आफ्नो महिमित राज्यको धनसम्पत्ति र आफ्नो महान् ऐश्‍वर्यको प्रताप धेरै दिनसम्म, अँ, एक सय अस्सी दिनसम्म देखाइरहे।
5 अनि ती दिनहरू पूरा भएपछि राजाले शूशन दरवारमा उपस्थित भएका ठूला र साना सबै मानिसहरूका निम्ति राजमहलको बगैंचाको चोकमा सात दिनसम्म एउटा भोज लगाइदिए। 6 त्यहाँ सेता, हरिया र नीला पर्दाहरू मिहिन मलमल र बैजनी रङ्गका डोरीहरूले चाँदीका मुन्द्रीहरूमा बाँधेर सङ्गमरमरका खाँबाहरूमा झुन्ड्याइएका थिए। सुन र चाँदीका पलङहरू रातो, नीलो, सेतो र कालो सङ्गमरमरको फर्समाथि राखिएका थिए। 7 अनि तिनीहरूले उनीहरूलाई सुनका कचौराहरूमा दाखमद्य पिउन दिए, (ती कचौराहरू एक-अर्काबाट भिन्‍न थिए), र राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो। 8 अनि पिउनु नियमबमोजिम हुन्थ्यो; कसैले करकाप गर्दैनथियो; किनकि यसरी राजमहलका सबै अफिसरहरूले हरेक मानिसको इच्छाअनुसार गरून् भनी राजाले नियम बसालेका थिए।
9 अनि रानी वश्तीले पनि राजा अहासूरसको राजकीय भवनमा स्त्रीहरूका निम्ति एउटा भोज लगाइन्।
10 सातौं दिनमा, जब राजाको हृदय दाखमद्यले प्रफुल्‍लित भएको थियो, तब राजा अहासूरसले आफ्नो सामु सेवा गर्ने महूमान, बिज्ता, हर्बोना, बिग्ता, अबग्ता, जेतर र कर्कस नाम गरेका सातजना अधिकारीहरूलाई, 11 मानिसहरू र शासकहरूलाई रानीको सुन्दरता देखाउन भनी राजकीय मुकुट पहिरेकी रानी वश्तीलाई राजाको सामु ल्याउने आज्ञा गरे; किनकि उनी हेर्नमा सुन्दरी थिइन्। 12 तर रानी वश्तीले यी अधिकारीहरूद्वारा दिइएको राजाको आज्ञाअनुसार आउन इन्कार गरिन्; यसले गर्दा राजा अत्यन्तै क्रोधित भए, र तिनको रीस तिनीभित्र जलिरहेको थियो।
13 तब राजाले समयहरू बुझ्ने बुद्धिमान् मानिसहरूलाई सोधे; (किनकि कानुन र न्याय जान्‍ने सबैसित राजाको चलन यस्तै थियो। 14 अनि राजाको नजिकै कर्शना, शेतार, अद्‌माता, तर्शीश, मेरेश, मर्सना र ममूकान नाम गरेका फारस र मादीका सातजना शासकहरू थिए; तिनीहरू राजाको सामु जान्थे, र राज्यमा पहिलो स्थान ओगटेका थिए); 15 “कानुनअनुसार हामीले रानी वश्तीलाई के गरौं; किनभने तिनले अधिकारीहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञा पालन गरिनन्?” 16 अनि ममूकानले राजा र शासकहरूको सामु जवाफ दिए: “रानी वश्तीले केवल राजाको विरोधमा मात्र खराबी गर्नुभएको छैन, तर राजा अहासूरसका सबै प्रान्तहरूका सबै शासकहरू र सबै मानिसहरूको विरोधमा पनि खराबी गर्नुभएको हो। 17 किनकि रानीको यस कामको कुरा फैलिएर सबै स्त्रीहरूकहाँ पुग्‍नेछ, र ‘राजा अहासूरसले रानी वश्तीलाई आफ्नो सामु ल्याउने आज्ञा गर्नुभएको थियो, तर उहाँ आउनुभएन’ भन्‍ने कुरा जब सुनाइन्छ, तब तिनीहरूले आफ्नो दृष्‍टिमा आ-आफ्ना पतिहरूलाई तुच्छ ठान्‍नेछन्। 18 अनि रानीको यस कामको कुरा सुन्‍ने फारस र मादीका उच्‍च स्त्रीहरूले पनि आजको दिनमा राजाका सबै शासकहरूसित यस्तै कुरा गर्नेछन्। यसले गर्दा अति नै अपमान र क्रोध उठ्नेछन्। 19 राजालाई ठीक लाग्छ भने, उहाँबाट एउटा राजकीय उर्दी निकालियोस्, अनि त्यो फारस र मादीको ऐन-कानुनमा कहिल्यै रद्द नहुने गरी लेखियोस्, कि वश्तीले फेरि कहिल्यै राजा अहासूरसको सामु आउन नपाऊन्; र राजाले उहाँभन्दा योग्यकी अर्की स्त्रीलाई उहाँको रानीको पद दिऊन्! 20 अनि जब हजुरले तयार गर्नुभएको राजाको यो उर्दी हजुरको सारा राज्यभरि नै सुनाइनेछ, (किनकि यो महान् छ), तब सबै स्त्रीहरूले आ-आफ्ना पतिहरूलाई – ठूला र साना दुवैलाई – आदर गर्नेछन्।”
21 अनि यो वचन राजा र शासकहरूलाई असल लाग्यो; अनि राजाले ममूकानको वचनअनुसार गरे। 22 किनकि राजाले आफ्ना सबै प्रान्तहरूमा, हरेक प्रान्तमा त्यसको लिपिअनुसार र हरेक जातिकहाँ त्यसको भाषाअनुसार पत्रहरू पठाए, कि हरेक पुरुषले आफ्नो घरमा शासन गरोस्, र हरेक जातिको भाषाअनुसार यो घोषणा गरियोस्