सारा मिश्रित भीड़ इस्राएलीबाट अलग गरियो
13
त्यस दिन तिनीहरूले मानिसहरूका कानमा मोशाको पुस्तकबाट पढ़ेर सुनाए; अनि यसमा यसो लेखिएको भेट्टाइयो: ‘अम्मोनी र मोआबी परमेश्‍वरको सभामा कहिल्यै पस्‍न पाउनेछैन। 2 किनभने तिनीहरूले रोटी र पानी लिएर इस्राएलीहरूलाई भेटेनन्, तर उनीहरूको विरोधमा उनीहरूलाई श्राप दिन बिलामलाई भाड़ामा लिए; तर हाम्रा परमेश्‍वरले त्यो श्राप आशिष्‌मा परिवर्तन गरिदिनुभयो।’ 3 अनि यस्तो भयो: जब उनीहरूले व्यवस्थाको कुरा सुने, तब उनीहरूले इस्राएलबाट सारा मिश्रित भीड़लाई अलग गरे।
4 तर यो हुनुभन्दा पहिले पूजाहारी एल्याशिबको, जो हाम्रा परमेश्‍वरको भवनको कोठाका अधिकारी थिए, तोब्याहसँग घनिष्‍ठ नाता थियो; 5 अनि तिनले त्यसका निम्ति एउटा ठूलो कोठा तयार पारेका थिए, जहाँ तिनीहरूले पहिले अन्‍नबलिहरू, लोबान र भाँड़ाकुँड़ाहरू, साथै अन्‍न, नयाँ दाखमद्य र तेलको दसौं अंश राख्थे; जो दसौं अंश लेवीहरू, गायकहरू र द्वारपालहरूलाई दिने आज्ञा दिइएको थियो; अनि त्यहाँ तिनीहरूले पूजाहारीहरूका भेटीहरू पनि राख्थे। 6 तर यो सबै भइरहेको समयमा म यरूशलेममा थिइनँ; किनकि बाबेलका राजा अर्तक्जर्जेसको बत्तीसौं वर्षमा म राजाकहाँ गएको थिएँ, र केही दिनपछि मैले राजाबाट छुट्टी मागें; 7 अनि म यरूशलेम आएँ, र एल्याशिबले परमेश्‍वरको भवनका चोकहरूमा तोब्याहका निम्ति एउटा कोठा तयार गरेर त्यसका निम्ति कस्तो खराब काम गरे, सो मैले थाहा पाएँ। 8 अनि यस कुराले मलाई साह्रै दुःखित पार्‍यो; यसैले मैले त्यस कोठाबाट तोब्याहका सबै घरेलु सरसामानहरू बाहिर फ्याँकिदिएँ। 9 अनि मैले आज्ञा गरें, र तिनीहरूले कोठाहरू शुद्ध पारे; अनि त्यहाँ मैले फेरि परमेश्‍वरको भवनका भाँड़ाकुँड़ाहरू, साथै अन्‍नबलि र लोबान ल्याएँ।
10 अनि लेवीहरूका भागहरू उनीहरूलाई नदिइएको कुरा मैले चाल पाएँ; किनभने लेवीहरू र गायकहरू, जसले काम गर्थे, हरेक आ-आफ्नो खेतबारीतिर भागिसकेका थिए। 11 तब मैले शासकहरूलाई हप्काएँ, र भनें: “परमेश्‍वरको भवन किन त्यागियो?” अनि मैले उनीहरूलाई भेला गरें, र उनीहरूलाई उनीहरूको ठाउँमा नियुक्त गरें। 12 तब सबै यहूदाले अन्‍न, नयाँ दाखमद्य र तेलको दसौं अंश भण्डारहरूमा ल्याए। 13 अनि मैले भण्डारहरूको देखरेख गर्ने भण्डारीहरूको रूपमा पूजाहारी शेलेम्याह र शास्त्री सादोकलाई, अनि लेवीहरूबाट पदायाहलाई नियुक्त गरें; अनि उनीहरूपछि जक्‍कूरका छोरा, मत्तन्याहका नाति हानान थिए; किनकि उनीहरू विश्‍वासयोग्य ठहरिएका थिए; अनि आफ्ना दाजुभाइहरूको भाग बाँड़िदिनुचाहिँ उनीहरूको काम थियो।
14 “हे मेरा परमेश्‍वर, यस कामको विषयमा मलाई सम्झनुहोस्, अनि आफ्ना परमेश्‍वरका भवनका निम्ति र त्यसका जिम्मेवारीहरूका निम्ति मैले गरेका मेरा उपकारहरू नमेट्नुहोस्!”
नहेम्याह मानिसहरूलाई विश्रामदिन मान्‍न लाउँछन्
15 यी दिनहरूमा मैले यहूदामा कति मानिसहरूलाई विश्रामदिनमा दाखका कोलहरू कुल्चीमिल्ची गर्दै गरेका, अन्‍नका बिटाहरू भित्र्याउँदै गरेका र गधाहरूमाथि लाद्दै गरेका देखें; साथै दाखमद्य, अङ्‍गुर र नेभाराहरू पनि, अनि सबै प्रकारका भारीहरू, जुन भारीहरू तिनीहरूले विश्रामदिनमा यरूशलेमभित्र ल्याउँथे; अनि तिनीहरूले खानेकुराहरू बिक्री गरेको दिनमै मैले तिनीहरूको विरोधमा साक्षी दिएँ। 16 अनि टायरका मानिसहरू पनि यरूशलेममा बस्थे, जसले माछा र अरू सबै प्रकारका व्यापारका मालहरू ल्याएर विश्रामदिनमा यहूदाका सन्तानहरूलाई, र यरूशलेममा बेचिरहेका थिए। 17 तब मैले यहूदाका भारदारहरूलाई हप्काएँ, र उनीहरूलाई भनें: “ तिमीहरूले गरिरहेको यो कस्‍तो दुष्‍ट काम हो, र तिमीहरूले विश्रामदिन अपवित्र पारिरहेका छौ? 18 के तिमीहरूका पितापुर्खाहरूले यस्तै गरेनन् र? अनि के हाम्रा परमेश्‍वरले यो सारा विपत्ति हामीमाथि र यस शहरमाथि ल्याउनुभएको होइन र? तर विश्रामदिन अपवित्र पारेर तिमीहरूले इस्राएलमाथि झन् बढ़्‍ता क्रोध ल्याउँदैछौ।”
19 अनि यस्तो भयो: विश्रामदिनको अघि यरूशलेमका मूलढोकाहरूमा अँध्यारो हुन थालेपछि मैले खापाहरू बन्द गर्ने आज्ञा गरें, र तिनलाई विश्रामदिन नबितुन्जेल नखोल्ने आज्ञा पनि दिएँ; अनि विश्रामदिनमा कुनै भारी भित्र नल्याइयोस् भनेर मैले मूलढोकाहरूमा मेरा कति सेवकहरूलाई नियुक्त गरें। 20 यसो हुँदा व्यापारीहरू र सबै प्रकारका व्यापारका मालहरू बिक्री गर्नेहरूले एक-दुईपल्ट यरूशलेमबाहिर रात बिताए 21 तब मैले तिनीहरूको विरोधमा साक्षी दिएर तिनीहरूलाई भनें: “तिमीहरू किन पर्खालको वरिपरि वास बस्दैछौ? तिमीहरूले फेरि यसो गर्‍यौ भने म तिमीहरूमाथि हात लाउनेछु।” त्यस बेलादेखि उसो तिनीहरू विश्रामदिनमा फेरि कहिल्यै आएनन्। 22 अनि मैले लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध पारून्, र आएर तिनीहरूले विश्रामदिन पवित्र राख्‍नलाई मूलढोकाहरूको देखरेख गरून् भनेर आज्ञा दिएँ। “हे मेरा परमेश्‍वर! यस कुराको विषयमा पनि मलाई सम्झनुहोस्, र तपाईंको करुणाको महान्‌ताअनुसार मलाई टिठाउनुहोस्!
अन्यजातिहरूसँग विवाहको प्रतिबन्‍ध
23 यी दिनहरूमा पनि मैले यस्ता यहूदीहरूलाई देखें, जसले अश्दोदी, अम्मोनी र मोआबी स्त्रीहरूलाई विवाह गरिरहेका थिए; 24 अनि तिनीहरूका आधा केटाकेटीहरूले अश्दोदी भाषा बोलिरहेका थिए, र यहूदी भाषा बोल्न जान्दैनथे, तर आ-आफ्नो जातिको भाषाअनुसार बोल्थे। 25 अनि मैले तिनीहरूलाई हप्काएँ, तिनीहरूलाई सरापें र तिनीहरूमध्‍ये कतिलाई पिटें, अनि तिनीहरूको केश उखेलें, र यसो भन्दै तिनीहरूलाई परमेश्‍वरको नाममा शपथ खान लाएँ: “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिँदै नदिनू, र तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरू र आफ्ना निम्ति ल्याउँदै नल्याउनू! 26 के इस्राएलका राजा सुलेमानले यस्ता कुराहरूको सम्बन्धमा पाप गरेनन् र? तैपनि धेरै जातिहरूमा तिनीजस्ता कोही राजा थिएनन्; तिनी आफ्ना परमेश्‍वरका प्रिय थिए; अनि परमेश्‍वरले तिनलाई सारा इस्राएलमाथि राजा तुल्याउनुभएको थियो; तर तिनलाई पनि पराई स्त्रीहरूले पाप गर्न लाए। 27 तब के यो सारा ठूलो खराब काम गर्नलाई हामी तिमीहरूको कुरा सुनौं? पराई स्त्रीहरूलाई विवाह गरेर के हामी आफ्ना परमेश्‍वरको विरोधमा अपराध गरौं?”
28 अनि महापूजाहारी एल्याशिबका छोरा योयादाका छोराहरूमध्ये एकजना होरोनी सन्बलतका ज्वाइँ थिए; यसकारण मैले तिनलाई मेरो सामुन्‍नेबाट खेदिदिएँ। 29 “हे मेरा परमेश्‍वर! तिनीहरूलाई सम्झनुहोस्; किनभने तिनीहरूले पूजाहारी-पदलाई, साथै पूजाहारी-पदको र लेवीहरूको वाचा अपवित्र पारेका छन्।” 30 यसरी मैले उनीहरूलाई सबै परदेशीहरूबाट शुद्ध गरें, अनि पूजाहारीहरू र लेवीहरूका जिम्मेवारीहरू, हरेकलाई आ-आफ्नो काममा नियुक्त गरें, 31 अनि ठहराइएको समयमा दाउराको भेटी ल्याउने र पहिलोफलहरू दिने बन्दोबस्त मिलाइदिएँ। “हे मेरा परमेश्‍वर! मेरो भलाइका निम्ति मलाई सम्झनुहोस्!”