एज्रा
अध्याय १-६:
जरूबाबेलको अधीनतामा पहिलो भाग बाबेलबाट यरूशलेममा फर्केको, र परमप्रभुको भवन बनाउने काम शुरु भएको
परमप्रभुको भवन बनाउन यहूदीहरूलाई यरूशलेम फर्कने कोरेसको हुकुम
1
अनि फारसका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाको मुखबाट बोलिएको परमप्रभुको वचन पूरा होस् भनेर परमप्रभुले फारसका राजा कोरेसको आत्मा उत्तेजित पार्नुभयो, र तिनले आफ्नो सारा राज्यभरि नै एउटा उर्दी घोषणा गरे, र यसो भन्दै लेखेर पनि प्रचारप्रसार गरे: 2 “फारसका राजा कोरेस यसो भन्‍नुहुन्‍छ, परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्यहरू मलाई दिनुभएको छ; अनि उहाँले मलाई यहूदामा भएको यरूशलेममा उहाँका निम्ति एउटा भवन निर्माण गर्ने आज्ञा दिनुभएको छ। 3 तिमीहरूको बीचमा उहाँको सारा प्रजाबाट को छ? परमप्रभु उसका परमेश्‍वर उसको साथमा रहून्, र ऊ माथि यहूदामा भएको यरूशलेममा जाओस्, अनि उसले परमप्रभु इस्राएलका परमेश्‍वरको भवन बनाओस्, जुन भवन यरूशलेममा छ! उहाँ नै परमेश्‍वर हुनुहुन्छ। 4 अनि ऊ परदेशी भई बसेको जुनै पनि ठाउँमा जति बाँकी रहन्छन्, उसको ठाउँका ती मानिसहरूले यरूशलेममा भएको परमेश्‍वरको भवनका निम्ति स्वेच्छा-दानबाहेक उसलाई चाँदी, सुन, धनसम्पत्ति र पशुहरू दिएर सहायता गरून्!”
कोरेसले परमप्रभुको भवनका पवित्र भाँड़ाकुँड़ाहरू फिर्ता गर्छन्
5 तब यहूदा र बिन्यामिनका पितापुर्खाहरूका प्रधानहरू, साथै पूजाहारीहरू र लेवीहरू ती सबैसँग उठे, जसको आत्मालाई परमेश्‍वरले यरूशलेममा भएको परमप्रभुको भवन बनाउन भनी माथि जानलाई उत्तेजित पार्नुभएको थियो। 6 अनि उनीहरूको वरिपरि भएका सबै मानिसहरूले स्वेच्छापूर्वक चढ़ाएका सबै थोकहरूबाहेक चाँदीका पात्रहरू, सुन, धनसम्पत्ति र पशुहरू, साथै बहुमूल्य वस्तुहरू दिएर उनीहरूका हातहरू बलिया तुल्याए। 7 अनि कोरेस राजाले परमेश्‍वरको भवनका भाँड़ाकुँड़ाहरू पनि निकालेर ल्याए, जुन भाँड़ाकुँड़ाहरू नबूकद्‌नेस्‍सरले यरूशलेमबाट लगेर आफ्ना देवताहरूको मन्दिरमा राखेका थिए। 8 अँ, यी थोकहरू नै फारसका राजा कोरेसले खजान्ची मित्रदातको हातद्वारा निकालेर ल्याए, र यहूदाका शासक शेश्बस्सरका निम्ति यी थोकहरू गन्ती गरिदिए। 9 अनि यिनको संख्या यो हो: तीसवटा सुनका थाल, एक हजार चाँदीका थाल, उनन्तीसवटा छुरी; 10 तीसवटा सुनका बटुका, दोस्रो स्तरका चार सय दसवटा चाँदीका बटुका र एक हजार अरू भाँड़ाकुँड़ाहरू। 11 सुन र चाँदीका सबै पात्रहरू पाँच हजार चार सय थिए। शेश्बस्सरले यी सबै थोकहरू ती कैदमा लगिएकाहरूको साथमा माथि पुर्‍याए, जुन कैदमा लगिएकाहरू बेबिलोनबाट माथि यरूशलेममा ल्याइए।