रानी वश्‍तीको सट्टामा अर्की रानीको खोज
2
यी कुराहरूपछि जब राजा अहासूरसको रिस शान्त भयो, तब तिनले वश्तीलाई र उनले गरेकी कुरा, अनि उनको विरोधमा निकालिएको उर्दीको सम्झना गरे। 2 अनि राजाको सेवा गर्ने तिनका सेवकहरूले भने: “राजाका निम्ति सुन्दरी तरुणी कन्याहरूको खोज गरियोस्! 3 अनि राजाले आफ्नो राज्यका सबै प्रान्तहरूमा अधिकारीहरूलाई नियुक्त गरून्, र तिनीहरूले सबै सुन्दरी तरुणी कन्याहरूलाई शूशन दरवारमा स्त्रीहरू राख्‍ने घरमा भेला गरून्, अनि स्त्रीहरूको जिम्मावाल राजाका नपुंसक हेगेको हातमा सुम्पून्; र यिनीहरूलाई यिनीहरूको शुद्धिकरणका निम्ति चाहिने सामग्रीहरू दिइऊन्! 4 अनि जुन युवतीले राजालाई प्रसन्‍न तुल्याउँछे, उही वश्तीको सट्टामा रानी होस्!” अनि यो कुरा राजालाई असल लाग्यो; अनि तिनले यस्तै गरे।
एस्तरसित परमेश्‍वरको अगम्य योजना
5 अनि शूशन दरवारमा एकजना यहूदी थिए, जसको नाम मोर्दकै थियो, जो याइरका छोरा, शिमीका नाति, बिन्यामिनी कीशका पनाति थिए; 6 उनी यरूशलेमबाट ती कैदीहरूसित कैद गरेर लगिएका थिए, जो ती यहूदाका राजा यकोन्याहसँग कैद गरिए, जसलाई बाबेलका राजा नबूकद्‌नेस्‍सरले कैद गरेर लगे। 7 अनि उनले हदस्सालाई, अर्थात् आफ्ना काकाकी छोरी एस्तरलाई पालनपोषण गरेर हुर्काएका थिए; किनकि तिनका न बुबा न आमा थिए; अनि तिनी जीउडालमा सुन्दर र हेर्नमा सुन्दरी थिइन्; तिनका बुबा र तिनकी आमाको मृत्युपछि मोर्दकैले तिनलाई आफ्नी छोरी तुल्याएका थिए।
8 अनि यस्तो भयो: जब राजाको हुकुम र तिनको उर्दी प्रचार गरियो, तब धेरै युवतीहरू शूशन दरवारमा हेगेको जिम्मामा भेला गराइए; तब एस्तर पनि स्त्रीहरूका पहरेदार हेगेको जिम्मामा राजभवनमा लगिइन्। 9 अनि हेगेलाई ती युवती असल लाग्यो, र तिनले उनको दृष्‍टिमा कृपा पाइन्; अनि तुरुन्तै उनले तिनलाई तिनको शुद्धिकरणका निम्ति चाहिने सामग्रीहरू र तिनका निम्ति खटाइएका थोकहरू, अनि राजाको भवनबाट तिनलाई दिन चुनिएका सातजना सहेलीहरू पनि दिइहाले; अनि उनले तिनलाई र तिनका सहेलीहरूलाई स्त्रीहरू बस्‍ने घरको सबभन्दा असल ठाउँमा राखिदिए 10 एस्तरले आफ्नो जाति र आफ्नो कुटुम्ब बताएकी थिइनन्; किनकि मोर्दकैले तिनलाई यो कुरा नभन्‍नू भनी आज्ञा गरेका थिए। 11 अनि एस्तरको कुशलता र तिनलाई के-कसो हुने हो, सो थाहा पाउनलाई मोर्दकै दिनहुँ स्त्रीहरू बस्‍ने घरको चोकको सामु ओहोर-दोहोर गर्थे।
12 अनि स्त्रीहरूको रीतिअनुसार उसका बाह्र महिना पूरा भएपछि हरेक युवतीको भित्र राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो, (किनकि यसरी नै तिनीहरूका शुद्ध हुने दिनहरू पूरा हुन्थे: छ महिना गन्धरसको तेलले र छ महिना सुगन्धित मसलाहरू र स्त्रीहरूका शुद्ध गर्ने अरू थोकहरूले); 13 तब यही प्रकारले हरेक युवती राजाकहाँ भित्र जान्थी; उसलाई स्त्रीहरू बस्‍ने घरबाट आफूले चाहेको जेसुकै थोक साथमा लिएर राजभवनमा जान दिइन्थ्यो। 14 साँझमा ऊ भित्र जान्थी, र भोलिपल्ट ऊ स्त्रीहरू बस्‍ने दोस्रो घरमा उपपत्‍नीहरूका पहरेदार, राजाका नपुंसक शाश्गजको जिम्मामा रहन फर्केर आउँथी; राजा ऊसित प्रसन्‍न भएर उसको नाम लिएर नबोलाइएसम्म ऊ फेरि राजाकहाँ भित्र जान पाउँदिनथिई।
15 अनि जब मोर्दकैका काका अबिहैलकी छोरी एस्तरको भित्र राजाकहाँ जाने पालो आयो, जसलाई मोर्दकैले आफ्नी छोरी तुल्याएका थिए, तब तिनले स्त्रीहरूका पहरेदार, राजाका नपुंसक हेगेले ठहराएका कुराबाहेक अरू कुनै पनि कुरा मागिनन्। अनि एस्तरलाई देख्‍ने सबैको दृष्‍टिमा तिनले कृपा पाइन्। 16 अनि अहासूरसको शासनकालको सातौं वर्षको दसौं महिनामा अर्थात् तेबेत महिनामा एस्तर राजभवनभित्र राजा अहासूरसकहाँ लगिइन्। 17 अनि राजाले अरू सबै स्त्रीहरूलाई भन्दा एस्तरलाई नै बढ़ी प्रेम गरे; अनि राजाको दृष्‍टिमा तिनले अरू सबै कन्याहरूले भन्दा बढ़ी कृपा र निगाह पाइन्; यसकारण उनले तिनको शिरमाथि राजकीय मुकुट लगाइदिए, र तिनलाई वश्तीको सट्टामा रानी तुल्याए। 18 तब राजाले आफ्ना सबै शासकहरू र आफ्ना सेवकहरूका निम्ति एउटा ठूलो भोज, ‘एस्तरको भोज’ लगाए; अनि उनले प्रान्तहरूका निम्ति एक बिदाको दिन घोषणा गरे, र राजाको उदारताअनुसार उपहारहरू दिए।
19 अनि जब कन्याहरू दोस्रोपल्ट भेला गरिए, तब मोर्दकै राजाको मूलढोकामा बसिरहेका थिए। 20 मोर्दकैले एस्तरलाई आज्ञा गरेअनुसार तिनले अझैंसम्म आफ्नो कुटुम्ब र आफ्नो जातिको नाम भनेकी थिइनन्; किनकि एस्तरले मोर्दकैको आज्ञा, आफू उनीद्वारा पालनपोषण गरिएको बेलामा झैं पालन गर्थिन्। 21 ती दिनहरूमा, मोर्दकै राजाको मूलढोकामा बसेको बेलामा, ढोकाका पहरेदारहरूमध्ये राजाका दुईजना अधिकारी बिग्तान र तेरेश रिसाएका थिए, र राजा अहासूरसमाथि हात हाल्न खोजेका थिए। 22 अनि यो कुरा मोर्दकैलाई थाहा भयो; तब उनले यो कुरा रानी एस्तरलाई भनिदिए; अनि एस्तरले मोर्दकैको नाममा सो कुरा राजालाई भनिदिइन्। 23 अनि यस कुराको खोजतलाश गरिँदा यो कुरा सत्य पाइयो; यसकारण तिनीहरू दुवै रूखमा झुन्ड्याइए; अनि यो कुरा राजाको सामु इतिहासको पुस्तकमा लेखियो।