यहूदीहरूको शत्रु हामान
3
यी कुराहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानको दर्जा बढ़ाइदिए, तिनलाई अघि बढ़ाए र तिनको आसन तिनका सबै संगी-शासकहरूको भन्दा माथि राखिदिए। 2 अनि राजाका सबै कर्मचारीहरू, जो राजाको मूलढोकामा थिए, झुक्थे र हामानलाई दण्डवत् गर्थे; किनकि तिनको विषयमा राजाले यस्तै आज्ञा गरेका थिए; तर मोर्दकै न झुक्थे, न तिनलाई दण्डवत् गर्थे। 3 तब राजाको मूलढोकामा भएका राजाका कर्मचारीहरूलेक मोर्दकैलाई भने: “राजाको आज्ञा तपाईं किन उल्लङ्घन गर्नुहुन्छ?” 4 अनि यस्तो भयो: दिनदिनै तिनीहरूले उनलाई त्यही कुरा भन्थे, तर जब उनले तिनीहरूको कुरा मानेनन्, तब तिनीहरूले मोर्दकैको अड़ान कहाँसम्म टिक्ने रहेछ, सो हेर्नलाई तिनीहरूले त्यो कुरा हामानलाई भनिदिए; किनकि उनले ‘म यहूदी हुँ’ भनी तिनीहरूलाई भनेका थिए। 5 अनि जब हामानले मोर्दकैलाई नझुकेको र तिनलाई दण्डवत् नगरेको देखे, तब हामान रिसले चूर भए। 6 तर तिनले केवल मोर्दकैमाथि मात्र हात हाल्नुचाहिँ आफ्नो इज्जतको अपमान ठाने; किनकि तिनीहरूले तिनलाई मोर्दकैको जातिको नाम बताएका थिए; यसैले हामानले अहासूरसको समस्त राज्यभरिका सबै यहूदीहरूलाई अर्थात् मोर्दकैको जातिलाई नाश गर्न खोजे।7 राजा अहासूरसको बाह्रौं वर्षको पहिलो महिना, अर्थात् निसान महिनामा तिनीहरूले हामानको सामु बाह्रौं महिना अर्थात् अदार महिनासम्मै हरेक दिन र हरेक महिनाको नाममा पूर अर्थात् चिट्ठा हाले। 8 अनि हामानले राजा अहासूरसलाई भने: “तपाईंको राज्यका सबै प्रान्तहरूमा भएका जाति-जातिको बीचमा छरपस्ट भएर फैलिएको एउटा जाति छ; अनि तिनीहरूका रीतिहरूख अरू सबै जातिहरूको भन्दा फरक छन्; अनि तिनीहरू राजाका नियमहरू पालन गर्दैनन्; यसकारण तिनीहरूलाई रहन दिनु राजाका निम्ति फाइदा छैन। 9 राजालाई ठीक लाग्यो भने तिनीहरूलाई नाश गर्नलाई एउटा उर्दी लेखियोस्; अनि राजाका भण्डारहरूमा जम्मा गर्नलाई यस कामको जिम्मा लिनेहरूको हातमा म दस हजार किक्करग चाँदी दिनेछु।”
यहूदीहरूलाई नाश गर्ने हामानको युक्ति
10 तब राजाले आफ्नो औंठी आफ्नो हातबाट फुकाले, र त्यो यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानलाई दिए। 11 अनि राजाले हामानलाई भने: “त्यो चाँदी तिमीलाई नै दिइएको छ, र त्यो जाति पनि; तिमीलाई जे ठीक लाग्छ, त्यही तिनीहरूसित गर!”
12 तब पहिलो महिनाको तेह्रौं दिनमा राजाका लेखनदासहरू बोलाइए; अनि हामानले आज्ञा गरेका सबै कुराअनुसार राजाका हाकिमहरू, हरेक प्रान्तका राज्यपालहरू र हरेक प्रान्तको हरेक जातिका शासकहरूलाई, प्रान्त-प्रान्तको लिपिअनुसार र हरेक जातिलाई आ-आफ्नो भाषाअनुसार लेखियो; राजा अहासूरसको नाममा त्यो लेखियो र राजाको औंठीले मोहरछाप लगाइयो। 13 अनि एकै दिनमा, अँ, अदार महिना अर्थात् बाह्रौं महिनाको तेह्रौं दिनमा जवानदेखि लिएर बूढ़ासम्म, बालबच्चाहरू र स्त्रीहरूलाई समेत सबै यहूदीहरूलाई नाश गर्नू, मार्नू र निमिट्यान्न पारिदिनू, साथै तिनीहरूको धनसम्पत्ति लुटको मालको रूपमा लुट्नू भनी राज्यका सबै प्रान्तहरूमा हुलाकीहरूद्वारा यी पत्रहरू पठाइए। 14 त्यस लेखको नकलचाहिँ हरेक प्रान्तमा उर्दीको रूपमा सबै जातिका मानिसहरूलाई ‘तिनीहरू त्यस दिनका निम्ति तयार होऊन्’ भन्दै घोषणा गरियो। 15 राजाको हुकुमद्वारा हतार गराइएका ती हुलाकीहकहरू निस्के; अनि त्यो उर्दी शूशन दरवारमा पनि सुनाइयो। अनि राजा र हामान पिउन बसे; तर शूशन शहरचाहिँ विचलित भयो।