यहूदीहरूको रुवाबासी र विलाप
4
जब मोर्दकैले भइरहेको सबै कुरा थाहा पाए, तब मोर्दकैले आफ्ना लुगाहरू च्याते; अनि भाङ्ग्राको लुगा र खरानी लाएर उनी शहरको बीचमा निस्के, अनि चर्को र तीतो चिच्च्याहट निकालेर चिच्च्याए; 2 अनि उनी राजाको मूलढोकाको सामुसम्म पनि पुगे; किनकि भाङ्ग्राको लुगा पहिरेको कुनै पनि मानिस राजाको मूलढोकाबाट भित्र पस्न पाउँदैनथियो। 3 अनि हरेक प्रान्तमा – हरेक ठाउँमा जहाँ राजाको हुकुम र तिनको उर्दी पुग्यो, त्यहाँ यहूदीहरूको बीचमा ठूलो शोक, उपवास, रुवाइ र विलाप भयो; अनि धेरैजना भाङ्ग्राको लुगा र खरानीमा पड़े।छुटकाराका निम्ति मोर्दकैको योजना
4 जब एस्तरका सहेलीहरू र तिनका नपुंसकहरू आएर तिनलाई सो कुरा बताइदिए; तब रानी साह्रै पीड़ित भइन्; अनि मोर्दकैबाट उनको भाङ्ग्राको लुगा फुकालेर उनलाई वस्त्र पहिराउन भनी तिनले लुगा पठाइदिइन्; तर उनले त्यो ग्रहण गरेनन्। 5 तब एस्तरले राजाका नपुंसकहरूमध्ये हताक नाम भएका एकजनालाई बोलाइन्, जसलाई राजाले तिनको सेवाका निम्ति खटाएका थिए; अनि मोर्दकैको विषयमा यो के हो, र किन भयो, सो जान्न तिनलाई आज्ञा गरिन्। 6 तब हताक त्यस शहरको सड़कमा मोर्दकैकहाँ निस्केर गए, जो राजाको मूलढोकाको सामु थियो। 7 अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो, सो सबै कुरा, र हामानले यहूदीहरूलाई नाश गर्न भनी तिनीहरूका निम्ति राजाका भण्डारहरूमा तौलेर दिनेछु भनी प्रतिज्ञा गरेको पैसाको मोठ रकम पनि हताकलाई बताइदिए। 8 अनि मोर्दकैलेक यहूदीहरूलाईख नाश गर्नका निम्ति शूशनमा दिइएको त्यस लिखित उर्दीको नकल पनि तिनलाई यस हेतुले दिए, कि तिनले त्यो नकल एस्तरलाई देखाइदिऊन्, यिनलाई बताइदिऊन् र ‘यिनीचाहिँ भित्र राजाकहाँ जाऊन्, उनलाई अर्जी चढ़ाऊन् र उनको सामु आफ्नो जातिका निम्ति विन्ती गरून्’ भनी यिनलाई आज्ञा गरून्।
9 अनि हताक गए, र मोर्दकैले भनेका वचनहरू एस्तरलाई बताइदिए। 10 अनि एस्तरले हताकलाई भनिन्, र तिनलाई मोर्दकैका निम्ति आज्ञा गरिन्: 11 “राजाका सबै कर्मचारीहरूग र राजाका प्रान्तहरूका मानिसहरूलाई थाहा छ: जो कोही नबोलाईकन राजाकहाँ भित्री चोकमा जान्छ, त्यसका निम्ति, चाहे त्यो पुरुष होस् वा स्त्री, एउटै कानुन छ: त्यो हो मृत्युदण्ड; तर जुन मानिसतिर राजाले सुनको राजदण्ड पसार्नुहुन्छ, त्योचाहिँ बाँच्छ। अनि यी तीस दिनसम्म मचाहिँ भित्र राजाकहाँ जान बोलाइएकी छैनँ।” 12 अनि तिनीहरूले एस्तरले भनेका वचनहरू मोर्दकैलाई सुनाइदिए। 13 तब मोर्दकैले एस्तरलाई यसो भन्ने जवाफ फर्काए: “सबै यहूदीहरूभन्दा बढ़ी मचाहिँ राजभवनमा उम्कनेछु भनी मनमनैमा नसोच! 14 किनकि यस बेला तिमी बिलकुल चुप लागिरह्यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा खड़ा हुनेछ; तर तिमी र तिम्रा बुबाको घराना नाश हुनेछौ; अनि कसले जान्दछ, यस्तै समयका निम्ति तिमी राजपदमा पुगेकी हौ कि?”
15 तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ फर्काइन्: 16 “गएर शूशनमा पाइने सबै यहूदीहरूलाई भेला पार्नुहोस्, र तीन दिनसम्म रातदिन नखाईकन र नपिईकन मेरा निम्ति उपवास बसिदिनुहोस्! म र मेरा सहेलीहरू पनि यस्तै उपवास बस्नेछौं; अनि यस अवस्थामा कानुनअनुसार नभए पनि म भित्र राजाकहाँ जानेछु; अनि म नाश भए नाश हुँली!” 17 तब मोर्दकै आफ्नो बाटो लागे, अनि एस्तरले उनलाई आज्ञा गरेअनुसार सबै कुरा गरे।