एस्तरको पहिलो भोज
5
अनि तेस्रो दिनमा यस्तो भयो: एस्तरले आफ्नो राजकीय वस्त्र लगाइन्, र राजभवनको भित्री चोकमा, राजभवनको सामु उभिन्; अनि राजाचाहिँ राजभवनभित्र त्यस भवनको मूलढोकाको सामुन्ने आफ्नो राजसिंहासनमाथि बसेका थिए। 2 अनि यस्तो भयो: जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब उनको दृष्टिमा तिनले कृपा पाइन्; र राजाले आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तब एस्तर नजिक गइन्, र राजदण्डको टुप्पा छोइन्। 3 तब राजाले तिनलाई भने: “रानी एस्तर, तिमी के चाहन्छ्यौ? र तिम्रो माग के हो? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ।” 4 अनि एस्तरले जवाफ दिइन्: “राजालाई असल लाग्यो भने आज राजा र हामान मैले हजुरका निम्ति तयार गरेको भोजमा आउनुहोस्!” 5 तब राजाले भने: “हामानलाई हतार गराओ, र तिनले एस्तरले जे भनेकी छन्, सो वचन पूरा गरून्!” यसरी राजा र हामान एस्तरले तयार गरेको भोजमा गए। 6 अनि दाखमद्यको भोजमा राजाले एस्तरलाई भने: “तिम्रो निवेदन के हो? र त्यो तिमीलाई दिइनेछ; अनि तिम्रो माग के हो? अँ, आधा राज्यसम्म त्यो पूरा गरिनेछ।” 7 अनि एस्तरले जवाफ दिएर भनिन्: “मेरो निवेदन र मेरो माग यही हो; 8 राजाको दृष्टिमा मैले कृपा पाएकी छु भने, र मैले निवेदन गरेको कुरा दिन र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने राजा र हामान त्यस भोजमा आउनुहोस्, जुन भोज म हजुरहरूका निम्ति तयार गर्नेछु; अनि भोलि म राजाले भन्नुभएअनुसार गर्नेछु।”मोर्दकैलाई फाँसी दिने हामानको योजना
9 अनि त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए; तर जब हामानले राजाको मूलढोकामा मोर्दकैलाई देखे, जो न खड़ा भए, न तिनको कारणले कामे, तब तिनी मोर्दकैसँग रिसले चूर भए। 10 तर हामानले आफैलाई रोकेर राखे; अनि जब तिनी घर पुगे, तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए। 11 अनि हामानले तिनीहरूलाई आफ्नो धनको महिमा, अनि आफ्ना छोराछोरीहरूको भीड़, र राजाले कसरी तिनको दर्जा बढ़ाइदिएको अनि तिनलाई शासकहरू र राजाका कर्मचारीहरूलाई भन्दा उच्च पारेको कुरा तिनीहरूलाई बताए। 12 अनि हामानले भने: “अँ, रानी एस्तरले आफूले तयार गर्नुभएको भोजमा मलाई बाहेक अरू कसैलाई राजासित भित्र जान दिनुभएन; अनि मैले भोलि पनि राजासित उहाँकहाँ जानेक निम्तो पाएको छु। 13 तर जहिलेसम्मख त्यस यहूदी मोर्दकैलाई राजाको मूलढोकामा बसिरहेको देखुँला, तहिलेसम्म मेरा निम्ति यो सबै केही पनि होइन।” 14 तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने: “तिनीहरूले पचास हात अग्लो एउटा फाँसी दिने खाँबाग बनाऊन्; अनि भोलि राजासित कुरा गर्नुहोस्, र तिनीहरूले मोर्दकैलाई त्यसमा झुन्ड्याऊन्; त्यसपछि रमाउँदै राजासँग भोजमा जानुहोस्!” अनि यो कुरा हामानलाई असल लाग्यो; अनि तिनले त्यो फाँसी दिने खाँबाग बनाउन लगाए।