राजा अहासूरसबाट मोर्दकैलाई सम्‍मान भएको
6
त्यस रात राजा सुत्‍नै सकेनन्; र उनले ऐतिहासिक घटनाहरूको विवरणको पुस्तक ल्याउने आज्ञा गरे; अनि ती राजाको सामु पढ़ेर सुनाइए। 2 अनि यस्तो लेखिएको भेट्टाइयो: ‘ढोकाका पहरेदारहरूमध्ये राजाका दुईजना अधिकारी बिग्तान र तेरेशले राजा अहासूरसमाथि हात हाल्न खोजेका थिए; तिनीहरूको विषयमा मोर्दकैले बताए।’
3 तब राजाले भने: “यसका निम्ति मोर्दकैलाई के आदर र सम्मान गरियो त?” तब राजाको सेवा गर्ने उनका सेवकहरूले भने: “उसका निम्ति केही पनि गरिएको छैन।” 4 अनि राजाले सोधे: “चोकमा को छ?” त्यस घड़ी मोर्दकैका निम्ति आफूले तयार गरेको फाँसी दिने खाँबामा उनलाई झुन्ड्याउन भनी राजासित कुरा गर्नलाई हामान राजभवनको बाहिरी चोकमा आइपुगेका थिए। 5 अनि राजाका कर्मचारीहरूले तिनलाई जवाफ दिए: “हेर्नुहोस्, चोकमा हामान उभिरहेका छन्!” अनि राजाले भने: “तिनी भित्र आऊन्!” 6 तब हामान भित्र आए। अनि राजाले तिनलाई भने: “जुन मानिसलाई आदर गर्न राजा प्रसन्‍न हुन्छन्, त्यस मानिसलाई के गर्नुपर्छ?” तब हामानले मनमनै भने: ‘मलाई भन्दा बढ़ी अरू कसलाई पो आदर गर्न राजा प्रसन्‍न हुनुभएको होला र?’ 7 अनि हामानले राजालाई जवाफ दिए: “जुन मानिसलाई आदर गर्न राजा प्रसन्‍न हुनुहुन्छ, उसका निम्ति तिनीहरूले 8 राजाले लाउने राजकीय वस्त्र, राजा चढ़्ने घोड़ा र उहाँको शिरमाथि लगाइएको राजकीय मुकुट ल्याऊन्! 9 अनि त्यो पोशाक र त्यो घोड़ा राजाका सबैभन्दा माननीय शासकहरूमध्ये एकजनाको हातमा दिइऊन्, र जसलाई आदर गर्न राजा प्रसन्‍न हुनुभएको छ, त्यस मानिसलाई तिनीहरूले ती चीज पहिराइदिऊन्, शहरका सड़कहरूहुँदो त्यस घोड़ामाथि चढ़ाएर उसलाई घुमाऊन् र उसको अघि-अघि ‘जसलाई आदर गर्न राजा प्रसन्‍न हुनुभएको छ, त्यस मानिसलाई यस्तै गरिन्छ’ भन्दै घोषणा गरून्!”
10 तब राजाले हामानलाई भने: “लौ छिटो गर, र तिमीले भनेझैं त्यो वस्त्र र त्यो घोड़ा लेऊ, र राजाको मूलढोकामा बसिरहेको यहूदी मोर्दकैलाई त्यस्तै गर! तिमीले भनेका सबै कुरामध्ये कुनै कुरा पनि नचुकोस्!” 11 अनि हामानले त्यो वस्त्र र त्यो घोड़ा लिए, मोर्दकैलाई पहिराइदिए र शहरको सड़कहुँदो उनलाई त्यस घोड़ामाथि चढ़ाएर उनको अघि-अघि ‘जसलाई आदर गर्न राजा प्रसन्‍न हुनुभएको छ, त्यस मानिसलाई यस्तै गरिन्छ’ भन्दै घोषणा गरे।
12 अनि मोर्दकै फेरि राजाको मूलढोकामा फर्केर आए। तर हामानचाहिँ विलाप गर्दै र आफ्नो शिर छोपिएको अवस्थामा आफ्नो घरतिर हतारिँदै गए 13 अनि हामानले आफ्नी पत्‍नी जेरेश र आफ्ना सबै मित्रहरूलाई आफूमाथि आइलागेको हरेक कुरा बताए। तब तिनका बुद्धिमान् मानिसहरू र तिनकी पत्‍नी जेरेशले तिनलाई भने: “यदि ती मोर्दकै, जसको सामु तपाईं पतित हुन लाग्‍नुभएको छ, यहूदी जातिका हुन् भने, तपाईं तिनीमाथि विजयी हुन सक्नुहुन्‍न, तर तिनको सामु तपाईं निश्‍चय नै पतित हुनुहुनेछ।” 14 अनि तिनीहरूले तिनीसित कुरा गरिरहेको बेलामा राजाका अधिकारीहरू आइपुगे, र हामानलाई एस्तरले तयार गरेको भोजमा लैजान हतार गरे।