एस्तरको दोस्रो भोज
7
तब राजा र हामान रानी एस्तरको साथमा भोजमा गए। 2 अनि दोस्रो दिन दाखमद्यको भोजमा राजाले रानी एस्तरलाई फेरि भने: “हे रानी एस्तर, तिम्रो निवेदन के हो? र त्यो तिमीलाई दिइनेछ; अनि तिम्रो माग के हो? अँ, आधा राज्यसम्म त्यो पूरा गरिनेछ।” 3 तब रानी एस्तरले जवाफ दिएर भनिन्: “हे राजा! तपाईंको दृष्‍टिमा मैले कृपा पाएकी छु भने, र राजालाई असल लाग्यो भने, मेरो निवेदनअनुसार मेरो ज्यान र मेरो मागअनुसार मेरो जाति मलाई दिइयोस्; 4 किनकि हामी – म र मेरो जाति – नाश गरिन, मारिन र निमिट्यान्‍न पारिनलाई बेचिएका छौं। तर हामी दास र दासी हुनलाई बेचिएका भए म चुप लाग्‍नेथिएँ, तैपनि शत्रुले राजाको हानि पूर्ति गर्न सक्नेथिएन।”
हामानको दुष्‍ट युक्ति प्रकट भएको
5 अनि राजा अहासूरसले जवाफ दिएर रानी एस्तरलाई भने: “त्योचाहिँ को हो? र त्यो कहाँ छ, जसले यस्तो काम गर्नलाई आफ्नो मनमा आँट गरेको छ?” 6 अनि एस्तरले भनिन्: “त्यो विरोधी र त्यो शत्रु यही दुष्‍ट हामान हो।” तब राजा र रानीको सामु हामान डराए। 7 अनि राजा आफ्नो क्रोधमा दाखमद्यको भोजबाट उठे, र राजमहलको बगैंचामा गए; अनि हामानचाहिँ रानी एस्तरबाट आफ्नो ज्यानको भिक्षा माग्‍न खड़ा भए; किनकि राजाद्वारा तिनको विरोधमा खराबी निश्‍चय गरिएको छ भनी तिनले थाहा गरे। 8 तब राजा राजमहलको बगैंचाबाट दाखमद्यको भोज भएको ठाउँमा फर्केर आए; अनि हामानचाहिँ एस्तर जहाँ थिइन्, त्यही पलङमाथि पड़िरहेका थिए। तब राजाले भने: “के यसले यस घरमा मेरै सामु रानीलाई बलात्कार गर्ने?” राजाको मुखबाट यो कुरा निस्कने बित्तिकै तिनीहरूले हामानको अनुहार छोपिदिए। 9 अनि अधिकारीहरूमध्ये हर्बोना नाम भएका एकजनाले राजाको सामु भने: “यो पनि हेर्नुहोस्! राजाका निम्ति असल कुरा बोल्ने मोर्दकैका लागि हामानले पचास हात अग्लो फाँसी दिने खाँबा बनाएको छ; त्यो हामानको घरमा खड़ा छ।” अनि राजाले भने: “त्यसलाई त्यसैमा झुन्ड्याइदेओ!” 10 तब तिनीहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको त्यस फाँसी दिने खाँबामा झुन्ड्याइदिए। तब राजाको क्रोध शान्त भयो।