राजा अहासूरसको सामु एस्तरको विन्‍ती
8
त्यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानको घरबार रानी एस्तरलाई दिए। अनि मोर्दकै राजाको सामु आए; किनकि एस्तरले राजालाई उनी तिनका को पर्दथे, सो बताइदिएकी थिइन्। 2 अनि राजाले आफ्नो औंठी फुकाले, जो उनले हामानबाट फिर्ता लिएका थिए, र त्यो मोर्दकैलाई दिए। अनि एस्तरले मोर्दकैलाई हामानको घरका अधिकारी तुल्याइन्। 3 अनि एस्तर फेरि राजाको सामु बोलिन्, र उनका पाउमा घोप्‍टो परिन्, र रुँदै अगागी हामानको दुष्‍टता र यहूदीहरूको विरोधमा रचिएको तिनको युक्ति हटाइदिनुहोस् भनी उनलाई विन्‍ती चढ़ाइन्। 4 तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। अनि एस्तर उठिन्, र राजाको सामु उभिन्, 5 अनि भनिन्: “राजालाई असल लाग्यो भने, र मैले हजुरको दृष्‍टिमा कृपा पाएकी छु भने, साथै यो कुरा राजाको सामु उचित ठहरियो, र मचाहिँ हजुरको दृष्‍टिमा असल ठहरिएँ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तहरूमा भएका यहूदीहरूलाई नाश गर्नलाई युक्ति रचेर लेखेका पत्रहरू उल्टाउन लेखियोस्! 6 किनकि मेरा जनहरूमाथि आइलाग्‍ने विपत्ति म कसरी हेर्न सक्छु र? अथवा मेरो कुटुम्बको विनाश भएको म कसरी हेर्न सक्छु र?” 7 तब राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने: “हेर, मैले हामानको घरबार एस्तरलाई दिएको छु, र त्यसलाई तिनीहरूले फाँसी दिने खाँबामा झुन्ड्याएका छन्; किनभने त्यसले यहूदीहरूमाथि हात हालेको थियो। 8 अनि तिमीहरूले चाहिँ, जस्तो तिमीहरूलाई असल लाग्छ, त्यस्तै राजाको नाममा र राजाको औंठीको छाप लगाएर यहूदीहरूलाई लेख; किनकि राजाको नाममा लेखिएको र राजाको औंठीको छाप लगाइएको लेख कसैले पनि उल्टाउन सक्दैन।”
यहूदीहरूलाई नाश गर्ने उर्दी खारिज गरिएको
9 अनि त्यही बेला, अँ, तेस्रो महिना अर्थात् सिवान महिनाको तेइसौं दिनमा राजाका लेखनदासहरू बोलाइए; अनि मोर्दकैले आज्ञा गरेका सबै कुराअनुसार यहूदीहरूलाई, अनि प्रान्तहरूका हाकिमहरू, राज्यपालहरू र शासकहरूलाई अर्थात् भारतदेखि लिएर कूशसम्मका एक सय सत्ताइस प्रान्तहरूको एक-एक प्रान्तलाई त्यसको लिपिअनुसार र हरेक जातिलाई त्यसको भाषाअनुसार अनि यहूदीहरूलाई पनि उनीहरूको लिपिअनुसार र उनीहरूको भाषाअनुसार लेखियो। 10 अनि मोर्दकैले राजा अहासूरसको नाममा लेखे, र त्यसमा राजाको औंठीको छाप लगाए, अनि घोड़चढ़ी हुलाकीहरूद्वारा, राजकीय अस्‍तबलका तेज घोड़ाहरूमाथि सवारहरूद्वारा पत्रहरू पठाए। 11 जुन पत्रहरूमा राजाले हरेक शहरमा भएका यहूदीहरूलाई भेला हुने, आफ्नो प्राण बचाउनलाई खड़ा हुने, र उनीहरूलाई, अँ, बालबच्‍चाहरू र स्त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जातिको र प्रान्तको सारा शक्ति नाश गर्ने, मार्ने र निमिट्यान्‍न पारिदिने, अनि तिनीहरूको धनसम्पत्ति लुटको मालको रूपमा लुट्ने अनुमति दिए – 12 राजा अहासूरसका सबै प्रान्तहरूभरि एकै दिनमा, अँ, अदार महिना अर्थात् बाह्रौं महिनाको तेह्रौं दिनमा। 13 यस लेखको नकलचाहिँ हरेक प्रान्तमा राजाको उर्दीको रूपमा दिइजाओस्, र यहूदीहरूचाहिँ त्यस दिनका निम्ति आफ्ना शत्रुहरूसँग बदला लिनलाई तयार रहून् भनेर सबै जातिहरूलाई घोषणा गरियो। 14 तब राजाको हुकुमद्वारा हतार गराइएका र आतुर बनाइएका ती हुलाकीहरू राजकीय घोड़ाहरू हाँकेर निस्के; अनि त्यो उर्दी शूशन दरवारमा पनि सुनाइयो।
देशका धेरै मानिसहरू यहूदी भए
15 अनि नीलो र सेतो राजकीय वस्त्र, सुनको ठूलो मुकुट अनि मिहिन मलमल र बैजनी पोशाक पहिरेर मोर्दकै राजाको उपस्थितिबाट निस्के; अनि शूशन शहर रमायो र खुशी भयो। 16 यहूदीहरूले चाहिँ ज्योति, आनन्द, हर्ष र आदर पाए। 17 हरेक प्रान्त र हरेक शहरमा जहाँ-जहाँ राजाको यो हुकुम र तिनको यो उर्दी आइपुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूलाई आनन्द र हर्ष, भोज र शुभदिन भयो। अनि त्यस देशका धेरै मानिसहरू यहूदी भए; किनकि यहूदीहरूको डरले तिनीहरूलाई छोप्यो।