यहूदीहरूको पहिलो दिनको विजय
9
अनि अदार महिना अर्थात् त्यस बाह्रौं महिनाको तेह्रौं दिनमा, जब राजाको हुकुम र तिनको उर्दी पूरा गर्ने समय नजिकै आइपुग्यो, जुन दिनमा यहूदीहरूका शत्रुहरूले उनीहरूमाथि अधिकार जमाउने आशा गरेका थिए; (तर कुरा पल्टेर यहूदीहरू पो उनीहरूलाई घृणा गर्नेहरूमाथि अधिकार जमाउने भए); 2 तब राजा अहासूरसका सबै प्रान्तहरूभरि नै यहूदीहरू आफ्ना शहरहरूमा उनीहरूलाई हानि पुर्‍याउन खोज्‍नेहरूमाथि हात हाल्न भेला भए; अनि कुनै मानिस पनि उनीहरूको सामु टिक्न सकेन; किनभने सबै मानिसहरूमाथि यहूदीहरूको डर आइपरेको थियो। 3 अनि प्रान्तका सबै शासकहरू, हाकिमहरू, राज्यपालहरू र राजाका कर्मचारीहरूले यहूदीहरूलाई सहायता गरे; किनभने मोर्दकैको डरले तिनीहरूलाई छोपेको थियो। 4 किनकि मोर्दकै राजभवनमा महान् भए, र उनको कीर्ति सबै प्रान्तहरूभरि नै फैलियो; किनकि यी मानिस मोर्दकै महान्, झन् महान् भए। 5 यसरी यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारको प्रहार, काटमार र विनाशले प्रहार गरे, अनि आफूलाई घृणा गर्नेहरूलाई जे इच्छा लाग्यो, त्यही गरे। 6 अनि शूशन दरवारमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे। 7 अनि पर्शन्दाता, दल्पोन र अस्पाता, 8 अनि पोराता, अदल्या र अरिदाता, 9 अनि पर्मश्ता, अरिसै, अरिदै र वैजाता – 10 यहूदीहरूको शत्रु हम्मदाताका छोरा हामानका दसैजना छोराहरूलाई उनीहरूले मारे; तर उनीहरूले लुटको मालमा आफ्नो हात लगाएनन्।
शूशनमा यहूदीहरूको दोस्रो दिनको विजय
11 त्यस दिन शूशन दरवारमा मारिएकाहरूको संख्या राजाको सामु ल्याइयो। 12 अनि राजाले रानी एस्तरलाई भने: “यहूदीहरूले शूशन दरवारमा पाँच सय मानिसहरूलाई र हामानका दसजना छोराहरूलाई मारेर नाश गरेका छन्; राजाका बाँकी प्रान्तहरूमा उनीहरूले के गरेका होलान्? अब तिम्रो के निवेदन छ? र त्यो तिमीलाई दिइनेछ; वा तिम्रो माग अझ के हो? र त्यो पूरा गरिनेछ।” 13 तब एस्तरले भनिन्: “राजालाई असल लाग्यो भने, आजको दिनको उर्दीअनुसार शूशनमा भएका यहूदीहरूले भोलि पनि गर्न पाऊन्, र तिनीहरूले हामानका दसजना छोराहरूलाई फाँसी दिने खाँबामा झुन्ड्याइदिऊन्!” 14 अनि राजाले यसो गर्ने हुकुम गरे; अनि शूशनमा उर्दी दिइयो; अनि तिनीहरूले हामानका दसजना छोराहरूलाई झुन्ड्याए। 15 किनकि शूशनमा भएका यहूदीहरू आफै फेरि अदार महिनाको चौधौं दिनमा पनि भेला भए, र शूशनमा तीन सय मानिसहरूलाई मारे; तर उनीहरूले लुटको मालमा आफ्नो हात लगाएनन्।
16 तर राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू भेला भए, र आफ्नो प्राण बचाउनलाई खड़ा भए; अनि उनीहरूले आफ्ना शत्रुहरूबाट विश्राम लिए। अनि उनीहरूले आफूलाई घृणा गर्नेहरूमध्ये पचहत्तर हजारलाई मारे, तर उनीहरूले लुटको मालमा आफ्नो हात लगाएनन् – 17 अदार महिनाको तेह्रौं दिनमा; अनि त्यस महिनाको चौधौं दिनमा उनीहरूले विश्राम लिए, अनि त्यस दिनलाई भोज र हर्षको दिन तुल्याए। 18 तर शूशनमा भएका यहूदीहरू त्यस महिनाको तेह्रौं दिनमा र त्यसको चौधौं दिनमा भेला भए; अनि त्यस महिनाको पन्ध्रौं दिनमा उनीहरूले विश्राम लिए, अनि त्यस दिनलाई भोज र हर्षको दिन तुल्याए। 19 यसकारण गाउँहरूका यहूदीहरूले, जुन पर्खालले नघेरिएका शहरहरूमा बस्थे, अदार महिनाको चौधौं दिनलाई हर्ष र भोजको दिन, अँ, शुभदिन र एक-अर्कालाई भागहरू पठाउने दिन तुल्याए।
पुरीमको स्‍थापना
20 मोर्दकैले यी कुराहरू लेखे र राजा अहासूरसका सबै प्रान्तहरूमा टाढ़ा-नजिकका सबै यहूदीहरूलाई पत्रहरू पठाए, 21 र वर्षैपिच्छे उनीहरूले अदार महिनाको चौधौं दिन र त्यस महिनाको पन्ध्रौं दिनलाई मान्‍नुपर्छ भन्‍ने कुरा उनीहरूको बीचमा ठहराए – 22 यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्राम पाएका दिनहरूको रूपमा, र त्यस महिनाको रूपमा, जुन महिना उनीहरूका निम्ति शोकबाट आनन्द र विलापबाट शुभ-दिनमा परिवर्तन भएको थियो; उनीहरूले ती दिनहरूलाई भोज र हर्षका दिन, अँ, एक-अर्कालाई भागहरू र गरिबहरूलाई दानहरू पठाउने दिनहरू तुल्याऊन्। 23 अनि यहूदीहरूले, आफूले जे शुरु गरेका थिए र मोर्दकैले उनीहरूलाई जे लेखेका थिए, त्यही कुरा गर्नेछौं भनी प्रण गरे। 24 किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानले यहूदीहरूको विरोधमा उनीहरूलाई नाश गर्ने युक्ति रचेका थिए, अनि उनीहरूलाई चूर्ण पार्न र उनीहरूलाई नाश गर्नलाई ‘पूर’ अर्थात् चिट्ठा हालेका थिए। 25 तर जब एस्तर राजाको सामु आइन्, तब राजाले जुन दुष्‍ट युक्ति हामानले यहूदीहरूको विरोधमा रचेका थिए, त्यो युक्ति तिनकै टाउकोमाथि फर्कोस्, अनि तिनीहरूले तिनलाई र तिनका छोराहरूलाई फाँसी दिने खाँबामा झुन्ड्याइदिऊन् भनी पत्रहरूद्वारा आज्ञा गरे। 26 यसैकारण उनीहरूले ती दिनहरूलाई ‘पूर’को नामअनुसार ‘पूरीम’ भन्‍ने नाम राखे। यसैले यस पत्रमा लेखिएका सबै कुराहरूको कारणले, साथै उनीहरूले यस कुराको विषयमा जे देखेका थिए र उनीहरूमाथि जे आइपरेको थियो, त्यसको कारणले 27 यहूदीहरूले पक्‍का गरे, अनि ‘हरेक वर्ष हामी यी दुई दिन तिनको विषयमा लेखिएअनुसार र तिनको तोकिएको समयअनुसार नबिराईकन मान्‍नेछौं’ भनी प्रण गरेर आफूलाई, आफ्ना सन्तानहरूलाई र आफूसित मिल्न आउने सबैजनालाई यस कुरामा बाँधे; 28 यस उद्देश्यले कि हरेक पुस्तामा, हरेक परिवार, हरेक प्रान्त र हरेक शहरमा यी दिनहरू सम्झना गरिँदै र मनाइँदै जाऊन्‌’; साथै ‘पूरीम’ का यी दिनहरू यहूदीहरूको बीचबाट मेटिएर नजाऊन्, र तिनको सम्झना उनीहरूका सन्तानहरूको बीचबाट नष्‍ट नहोस्।
29 तब अबिहैलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले ‘पूरीम’ को यो दोस्रो पत्र पक्‍का ठहराउनलाई पूरा अधिकारसित लेखे। 30 अनि मोर्दकैले अहासूरसको राज्यका एक सय सत्ताइस प्रान्तहरूमा सबै यहूदीहरूकहाँ शान्ति र सत्यताका वचनहरू लेखिएका पत्रहरू पठाए, 31 जसले यहूदी मोर्दकै र रानी एस्तरले तिनलाई ठहराएअनुसार अनि यहूदीहरूले उपवासहरूसम्बन्धी कुराहरू र आफ्नो पुकारको विषयमा आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति ठहराएअनुसार ‘पूरीम’का ती दिनहरू तिनको तोकिएको समयमा पक्‍का गरून्। 32 अनि एस्तरको उर्दीले ‘पूरीम’का यी कुराहरू पक्‍का गर्‍यो; अनि यो एउटा पुस्तकमा लेखियो।