परमेश्‍वरको सामु अय्यूब आफूलाई नम्र तुल्याउँछन्
40
परमप्रभुले अय्यूबलाई जवाफ दिएर अझै भन्‍नुभयो: 2 “के सर्वशक्तिमान्‌सँग विवाद गर्नेले उहाँलाई शिक्षा देओस्? जसले परमेश्‍वरलाई दोष देखाउँछ, उसैले जवाफ देओस्!”
3 तब अय्यूबले परमप्रभुलाई जवाफ दिएर भने: 4 “हेर्नुहोस्, म नीच हुँ; म तपाईंलाई के जवाफ दिऊँ? म मेरो हात आफ्नो मुखमाथि राख्‍नेछु। 5 एकपल्ट त म बोलें, तर अब म जवाफ दिनेछैनँ; अँ, दुईपल्ट पनि बोलें, तर अब म अघि बढ़्नेछैनँ।”
परमेश्‍वरको दोस्रो जवाफ: बिहेमोतमा उहाँको सामर्थ्यको प्रदर्शन
6 तब भुमरीको बीचबाट परमप्रभुले अय्यूबलाई जवाफ दिएर भन्‍नुभयो: 7 “अब पुरुषले झैं आफ्नो कम्मर कस! म तिमीलाई प्रश्‍न गर्छु, र तिमीले मलाई बताऊ! 8 के तिमीले मेरो न्याय पनि रद्द गर्दछौ? आफू धर्मी ठहरिनलाई के तिमी मलाई दोषी ठहऱ्याउँछौ? 9 के तिम्रो पाखुरा परमेश्‍वरको जस्तो छ? अथवा के तिमी उहाँको जस्तो आवाजले गर्जन सक्छौ? 10 अब गौरव र श्रेष्‍ठताले आफूलाई सिँगार! अनि आफूलाई महिमा र सुन्दरता पहिराऊ! 11 तिम्रो क्रोधको झोकलाई तितरबितर छरिदेऊ; अनि हरेक घमण्डीलाई हेर, र त्यसलाई होच्याइदेऊ! 12 हरेक घमण्डीमाथि आँखा लगाऊ, र त्यसलाई तल झारिदेऊ! अनि दुष्‍टहरूलाई तिनीहरूको ठाउँमा कुल्चीमिल्ची पारिदेऊ! 13 तिनीहरूलाई एकसाथ धूलोमा लुकाइदेऊ, र गुप्‍तमा तिनीहरूका अनुहारहरू बाँधिदेऊ! 14 तब म पनि तिमीकहाँ मानिलिन्छु, कि तिम्रो दाहिने हातले तिमीलाई बचाउन सक्छ।
15 अब बिहेमोतलाई हेर, जसलाई मैले तिमीसँगै बनाएँ; त्यसले गोरुले झैं घाँस खान्छ। 16 अब हेर, त्यसको बल त्यसको कम्मरमा छ, र त्यसको शक्ति त्यसको पेटका मांसपेशीहरूमा छ। 17 त्यसले आफ्नो पुच्छर देवदारझैं डोलाउँछ; त्यसका तिघ्राका नसाहरू एकसाथ बुनिएका हुन्छन्। 18 त्यसका हड्डीहरू पित्तलका नलीहरूजस्‍ता हुन्छन्; त्यसका हड्डीहरू फलामका डण्डाहरूजस्ता हुन्छन्। 19 परमेश्‍वरका मार्गहरूमध्ये त्यो श्रेष्‍ठ हो; जसले त्यसलाई बनाउनुभयो, उहाँले आफ्नो तरवार त्यसकहाँ पुर्‍याउन सक्नुहुन्छ। 20 साँच्‍चै पहाड़हरूले त्यसका निम्ति आहार उत्पन्‍न गर्छन्, जहाँ सबै मैदानका पशुहरू खेल्छन्। 21 त्यो झ्याम्म परेका रूखहरूमुनि, निगालोको आड़मा र धापहरूमा लेट्छ। 22 झ्याम्म परेका रूखहरूले त्यसलाई आफ्नो छायाले ढाक्छन्; खोलाका बैंसका रूखहरूले त्यसलाई चारैतिरबाट घेर्छन्। 23 हेर, नदी उर्लंदछ, तर त्यो आत्तिँदैन; यर्दन त्यसको मुखमा उर्लेर आए तापनि त्यो ढुक्‍कै रहन्छ। 24 के त्यसका आँखाको सामु कसैले त्यसलाई पक्रन सक्छ? के कसैले पासाहरूमा पारेर त्यसको नाक छेंड़्न सक्छ?”