परमेश्‍वरको पहिलो जवाफ: अय्यूबलाई सृष्‍टिको विषयमा प्रश्‍न गर्नुहुन्छ
38
तब भुमरीको बीचबाट परमप्रभुले अय्यूबलाई जवाफ दिएर भन्‍नुभयो: 2 “यो को हो, जसले ज्ञानहीन शब्दहरूद्वारा सल्‍लाहलाई अँध्यारो पार्दछ? 3 अब पुरुषले झैं आफ्नो कम्मर कस; किनकि म तिमीलाई प्रश्‍न गर्नेछु, र तिमीले मलाई जवाफ देऊ!
4 मैले पृथ्वीका जगहरू बसाल्दाखेरि तिमी कहाँ थियौ? तिमीसँग समझ छ भने मलाई बताऊ! 5 कसले त्यसका नापहरू ठहरायो? तिमी जान्दछौ भने भन! अथवा कसले त्यसमाथि सूत तान्यो? 6 त्यसका जगहरू केमाथि बसालिएका छन्? अथवा त्यसको कुनाढुङ्गा कसले बसाल्यो, 7 जुन बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरू हर्षले चिच्च्याए?
8 अथवा गर्भबाट निस्केझैं जब समुद्र फुटेर निस्क्यो, तब कसले ढोकाहरू लाएर समुद्रलाई थुन्यो, 9 जब मैले बादललाई त्यसको वस्त्र र घोर अन्धकारलाई त्यसको लपेट्ने लुगाको रूपमा बनाएँ? 10 अनि जब मैले त्यसका निम्ति मेरो सिमाना बाँधें अनि आग्लाहरू र ढोकाहरू हालें, 11 र यसो भनें: ‘तँ यहींसम्म आउलास्! यहाँबाट अघि नबढ़्लास्! अनि यहाँ तेरा घमण्डी छालहरू रोकिऊन्!’?
12 तिम्रा दिनहरू भएको समयदेखि यता के तिमीले बिहानलाई आज्ञा गरेका छौ, र उज्यालो खस्‍ने बेलालाई त्यसको ठाउँ चिनाएका छौ, 13 कि त्यसले पृथ्वीका छेउ-छेउसम्म अधिकार गरोस्, र दुष्‍टहरू त्यसबाट टकटकाइऊन्? 14 साँचोमा चिम्टे माटोझैं त्यो घोप्‍टिन्छ; अनि ती लुगा पहिरेझैं खड़ा हुन्छन्। 15 दुष्‍टहरूबाट तिनीहरूको ज्योति रोकेर राखिन्छ, र उठाइएको पाखुरा भाँचिनेछ।
16 के तिमी समुद्रका मुहानहरूभित्र पसेका छौ? अथवा के तिमी गहिराइको खोजमा घुमेका छौ? 17 के तिम्रा निम्ति मृत्युका मूलढोकाहरू खोलिएका छन्? अथवा के तिमीले मृत्युको छायाका मूलढोकाहरू देखेका छौ? 18 के तिमीले पृथ्वीको चौड़ाइ जानेका छौ? यो सबै तिमी जान्दछौ भने बताऊ!
19 त्यो बाटो कहाँ छ, जहाँ उज्यालोले वास गर्छ? अनि अन्धकारचाहिँ – त्यसको ठाउँ कहाँ छ, 20 फलस्वरूप तिमीले त्यसलाई त्यसको इलाकामा लैजान सक्छौ, र त्यसको घरमा पुर्‍याउने बाटाहरू जान्‍न सक्छौ? 21 के तिमी जान्दछौ; किनकि त्यति बेला तिमी जन्मेका थियौ, र तिम्रो उमेर धेरै भएको छ?
22 के तिमी हिउँका भण्डारहरूभित्र पसेका छौ? वा तिमीले असिनाका भण्डारहरू देखेका छौ, 23 जुन हिउँ मैले सङ्कष्‍टको समयका निम्ति, लड़ाइँ र युद्धको दिनका निम्ति साँचेर राखेको छु?
24 कुन बाटो भएर ज्योति छुट्टिन्छ, जसले पूर्वीय हावा पृथ्वीमाथि तितरबितर पार्छ? 25 कसले पानीको बाढ़का निम्ति नाली, वा गर्जनको बिजुलीका निम्ति बाटो छुट्याएको छ, 26 पानी बर्साउनका निम्ति – पृथ्वीमाथि, जहाँ मानिस छैन, उजाड़स्थानमाथि, जहाँ कोही मानिस छैन; 27 उजाड़ र बन्जर भूमि तृप्‍त पार्नलाई र कोमल घाँसको टुसा उमार्नका निम्ति?
28 के वर्षाको बुबा छ? अथवा शीतका थोपाहरू कसले जन्माएको हो? 29 कसको गर्भबाट बरफ निस्क्यो? अनि आकाशको तुसारोचाहिँ – कसले त्यसलाई जन्म दियो? 30 पानी पत्थरमा झैं लुक्छ, र गहिरो सागरको सतह जम्छ।
31 कृत्तिका नक्षत्रका गुच्छा के तिमी बाँध्‍न सक्छौ? वा मृगशिराका बन्धनहरू फुकाउन सक्छौ? 32 के तिमी राशिहरू हरेकलाई आ-आफ्नो समयमा झुल्काउन सक्छौ? अथवा के तिमी सप्‍तर्षिलाई त्यसका बच्‍चाहरूको साथमा डोर्‍याउन सक्छौ? 33 के तिमी आकाश-मण्डलका नियमहरू जान्दछौ? के तिमी पृथ्वीमाथि त्यसको शासन स्थापित गर्न सक्छौ?
34 प्रशस्त पानीले तिमीलाई ढाकोस् भनेर के तिमीले आफ्नो सोर बादलहरूसम्म पुर्‍याउन सक्छौ? 35 के तिमीले बिजुलीहरू पठाउन सक्छौ, र ती जाऊन्, र तिमीलाई भनून्: ‘हामी हाजिर छौं’? 36 कसले अन्तस्करणमा बुद्धि हाल्यो? कसले हृदयलाई समझ दियो? 37 कसले बुद्धिले बादलहरूलाई गन्‍न सक्छ? अथवा कसले आकाशका घड़ाहरू बन्द गरिराख्‍न सक्छ, 38 जब माटो साँचोमा हालेझैं ढिको बन्छ र डल्‍लाहरू कसिलो गरी एक-अर्कासँगै टाँसिन्छन्?
39 के तिमी सिंहका निम्ति शिकार गर्छौ? वा जवान सिंहहरूको भोक मेटाउँछौ, 40 जब ती आफ्ना ओड़ारहरूमा झुकेर बसेका हुन्छन् र लुक्ने ठाउँमा ढुकेर बसेका हुन्छन्? 41 जब कागका बच्‍चाहरू परमेश्‍वरलाई पुकार्छन् र खानेकुराको अभावमा भड़्किहिँड़्छन्, तब कसले कागका निम्ति त्यसको खानेकुराको प्रबन्ध गर्छ?”